रिलायबल इन्डष्ट्रिजको आम्दानीमा आकर्षक वृद्धि, ४५३ प्रतिशतले बढ्यो

0
Shares

आर्थिक वर्ष २०२३ मा रिलायबल इन्डष्ट्रिजको आम्दानीमा आकर्षक वृद्धि भएको छ। आर्थिक वर्ष २०२२ मा ९ करोड ७० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको कारोबारमा भएको वृद्धिसँगै आव २०२३ मा सञ्चालन आम्दानी बढेर ५३ करोड ७० लाख पुगेको छ ।

कम्पनीको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा भने घटेको छ । आव २०२२ मा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको ७.३८ प्रतिशत थियो भने आव २०२३ मा उक्त नाफा ३.०९ प्रतिशतमा खुम्चिएको हो ।

सञ्चालन आम्दानीमा देखिएको आकर्षक वृद्धिका बावजुद ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहितको नाफा घट्नु पछाडिको कारण कम मार्जिन भएका सामाग्रीहरुको बिक्री वितरण हुँदा नाफामा ह्रास आएको कम्पनीले जनाएको छ ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न हार्डवेयर सम्बन्धी सामाग्रीहरुको आयात गरी बिक्री वितरण गरिरहेको छ । हार्डवेयर सामाग्री बिक्री वितरण गर्नुका साथै कम्पनीले बाइन्डिङ तथा ग्यालबनाइज्ड वायर उत्पादन गर्दै आएको छ । विभिन्न साइज तथा आकारका वायरहरु उत्पादन गर्ने कम्पनीको वार्षिक उत्पादन क्षमता २० हजार मेट्रिक टन रहेको छ ।

लामो समयदेखि म्यानुफ्याक्चरीङ तथा ट्रेडिङ क्षेत्रमा काम गर्दै आएका धिरज अग्रवाल कम्पनीका अध्यक्ष रहेका छन् । रियल स्टील्स प्रालिका प्रमोटर तथा नेपालकै पुरानो प्रिन्टिङ प्रेस– शङ्कर प्रेसका निर्देशक रहेका अग्रवालको नेतृत्वमा कम्पनी सञ्चालन भइरहेको छ ।

कम्पनीले ६० करोड कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २१ करोड ८२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीलाई डबल बी माइन्स रेटिङ गरेको छ भने ३८ करोड १८ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.३९ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।