लक्ष्मी टेक्नोप्लाष्टले प्रिमियम मूल्यमा आईपीओ ल्याउने, एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक चयन

0
Shares

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक सर्वाजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १४ लाख कित्ताले हुन आउने रकम १४ करोड बराबरको साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको हो ।

सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशनको लागि सोमबार निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धमा सम्झौता भएको छ । कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । लक्ष्मी टेक्नोप्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

उक्त कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सि.पि.भि.सि÷पि.भि.सि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याङ्की, औद्योगिक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर  (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादनमुलक उद्योग हो ।

यसले सिपिभिसी/पीभिसी पाइप र फिटिङ्गसका लागि मुख्यतया ओम शिवम पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको बिक्री वितरण गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।