वैकल्पिक वित्तीय मध्येस्थता प्लेटफर्म मार्फत ८० प्रतिशत भन्दा धेरै एसएमई लाभान्वित हुने

0
Shares

नेपालमा वैकल्पिक वित्तीय मध्येस्थताको प्लेटफर्म विकास भएको खण्डमा ८० प्रतिशत भन्दा धेरै साना तथा मझौला(एसएमई)उद्योग लाभान्वीत हुने देखिएको छ । अनलाईन प्लेटफर्म मार्फत लगानीको स्रोत जुटाउने व्यवस्थाको सुरुवात भए अहिले बैंकिङ क्षेत्रबाट कर्जाको पहुँच नपाएका एसएमईलाई सहज हुने देखिएको हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार वैकल्पिक वित्तीय मध्येस्थता प्लेटफर्म विकास गर्ने सन्दर्भमा छलफल सुरु गरेको छ । केन्द्रीय बैंकले विना धितो प्रविधिमा आधारीत भई अनलाईन कर्जा लिने/दिने तथा क्राउड फण्डिङले कर्जाको पहुँचमा नरहेका एसएमईका लागि निकै फाइदाजनक हुने जनाएको छ । केन्द्रीय बैंकको चौथो रणनीतिक योजनाले पनि डिजिटल पेमेन्टलाई विस्तार गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुसार डिजिटल फाइनान्सीयल इकोसीस्टम विकास गर्ने समेत योजनामा उल्लेख छ । त्यसैगरी केन्द्रीय बैंकले एसएमईलाई कर्जाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको हुनाले पनि यस्तो बैकल्पिक प्लेटर्फम सहयोगी हुने अपेक्षा केन्द्रीय बैंकको छ ।

तर, उक्त अनलाइनमा आधारीत कर्जा/लिने दिने प्लेटफर्म सञ्चालन गर्दा उच्च जोखिमपुर्ण हुन्छ । अध्ययनले उक्त प्लेटफर्मको सञ्चालनले वित्तीय प्रणालीलाई समेत जोखिम पार्न सक्नेछ भनएकाले निकै चनाखो हुनुपर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले बताए ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल सञ्चालनमा रहेका मध्ये १६ प्रतिशत साना तथा मझौला उद्योगले मात्रै बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाएका छन् । त्यसैगरी ६.८ प्रतिशतले रेमिट्यान्स, ८ प्रतिशतले अनौपचारीक कर्जा, ५.९ प्रतिशतले सहकारीबाट, २५.८ प्रतिशतले व्यक्तिगत सेभिङ, पैत्रिक सम्पत्तिलाई प्रयोग गरेर स्रोत जुटाइ उद्योग गर्ने ३३.१ प्रतिशत, अन्य ३.९ र भेन्चर क्यापिटलको माध्यमबाट लगानी जुटाउने साना तथा मझौला उद्योग ०.५ प्रतिशत रहेका छन । यो तथ्याङकलाई अधार मान्दा पनि बैंक वित्तीय संस्था तथा भेन्चर क्यापिटल बाहेकका साना तथा मझौला उद्यामीका लागि वैकल्पिक वित्तीय मध्यस्थता प्लेटफर्म उपयोगी हुने श्रेष्ठको भनाई छ । तर, यस्तो प्लेटफर्मको पुँजी उत्पादनमुलक क्षेत्रमा केन्द्रीत गर्नुपर्ने उनको भनाई छ ।

नेपालका लागि नभए पनि धेरै एसियन मुलुकहरुमा यस्तो प्रयोग बढ्दो छ । वित्तीय कारोबारमा प्रविधिको प्रयोग विस्तार गर्नका लागि पनि यस्तो प्लेटफर्मले धेरै महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । तर, यस्तो माध्यमबाट हुने कारोबारमा उच्च जोखिम हुने र त्यसको असर सम्पूर्ण वित्तीय प्रणालीमा नै पर्न सक्ने भएकाले सोच्नु पर्ने भने पक्कै छ ।

एसियन मुलुकहरु चिन, भारत, मलेसिया, इन्डोनेसियामा यस्तो अभ्यास प्रचालनमा छ । तर, यी मुलुकमा यस्तो कारोबारको कडा नियमनको व्यवस्था गरिएको छ। केही यूरोपियन मुलुकहरुमा भने केन्द्रीय बैंकको नियमन मार्फत सञ्चालनमा छन् । भारत, भियतनाम, थाइल्याण्ड, साउथ कोरिया, सिंगापुर, हङकङ तथा मकाउमा समेत यस्तो सेवा कडा नियमनका साथ सञ्चालनमा छ ।

अनलाइन प्लेटफर्म मार्फत पियर टु पियर (पिटुपी) ल्याण्डिङ तथा क्राउड फण्डिङको सेवा सुरु गर्नका लागि कर्जा लिने दिने व्यक्ति तथा संस्थाको क्रेडिट स्कोरिङ, क्रेडिट हिष्ट्री, एसेट ओनरसिप, करेन्ट डेब्ट, कर्जार आम्दानीको अनुपात, बैंक तथा वित्तीय संस्थामा रहेका कर्जा खाताको प्रभाविकारी सूचना उपलब्ध हुने व्यवस्था हुनु पर्छ ।

के हो वैकल्पिक वित्तीय मध्यस्थता प्लेटफर्म ?

वैंकल्पिक वित्तीय मध्यस्थता प्लेटफर्म भनेको अनलाइन मार्फत विना धितो कर्जा लिने र दिने विच हुने सम्झौता गर्ने संयन्त्र हो । यस्तो प्लेटफर्म सञचालनका लागि नियामक निकायबाट अनुमती लिनु पर्छ। त्यसका लागि आवश्यक पुँजी तथा सञ्चालन विधिहरु नियामकले तय गर्छ । सोही अनुसार सञ्चालकले कर्जा लिने र दिने विच भेट हुने बातवरण बनाइदिन्छ । त्यसको ब्याजदर लिने र दिने आफैले निर्धारण गर्छन । यसका लागि धितोको आवश्यकता हुदैन ।

यस्तो प्लेटफर्म मार्फत कर्जा लिने, इक्वीटी लगानी संकलन गर्ने तथा दान र सहयोग संकलनका लागि प्रयोग गर्न सकिन्छ । पिटुपी मार्फत कर्जा र इक्वीटी लगानी जुटाउन सकिन्छ । पिटुपी मार्फत पाउने स्रोतको आधार मार्केट प्लेस, ब्यालेन्ससीट, इनभोइस ल्याण्डिङ सेवा उपलब्ध हुन्छ । त्यसैगरी इक्वीटीमा आधारीत क्राउड फण्डिङ, रिय स्टेट, प्रोफि सेयरीङलगायतका सेवा उपलब्ध हुन्छ । तर, अन्तरािष्ट्रय अभ्यासलाइ हेर्दा अन्यको तुलनामा मार्केट प्लेस अर्थात व्यक्ति वा संस्थाले व्यक्ति वा संस्थाका लागि कर्जा दिने सेवा वढी प्रचलनमा रहेको देखन्छि ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।