सेयर बजारबाट भारी रकम बाहिरिएपछि चीनले नयाँ नीति ल्याउँदै


चिनियाँ स्टक एक्सेन्ज र हङकङ स्टक एक्सेन्जबाट भारी रकम बाहिरिएपछि चीनको सेयरबजार नियामक संस्था चाइना सेक्युरीटिज रेगुलटरी कमिसन (सीएसआरसी)ले नयाँ नीति अघि सारेको छ ।

पछिल्लो ३ वर्षमा चीनका विभिन्न स्टक एक्सेन्ज र हङकङ स्टक एक्सेन्जबाट ६० खर्ब डलर बाहिरिएको छ । सन् २०२१ मा चीनमा छाएको रियल स्टेट संकटलाई मध्येनजर गर्दै अधिकांश लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गरी सर्टसेललाई बढावा दिएपछि सीएसआरसीले उक्त कदम चालेको हो ।

सर्टसेलिङ सेयरबजारमा खेलिने एक प्रख्यात खेल हो, जहाँ सेयर कारोबारीहरुले कुनै सेयरको मूल्य घट्छ भनेर आफूसँग भएको सेयर र उधारो सेयर लिएर उक्त सेयर बेच्छन् र पछि सेयरको मूल्य घट्दै जाँदा पुनः सस्तोमा सेयर खरिद गर्ने गर्छन् । यसरी ती सेयरकारोबारीहरुले सर्टसेलिङ मार्फत नाफा कमाइरहेका हुन्छन् ।

सीएसआरसीको नयाँ नीति अनुसार सर्टसेलिङको सीमा निर्धारण हुनेछ । सोमबारबाट लागु हुने गरी सर्टसेलिङको सीमा निर्धारण हुँदा यसले मार्केटमा फेयर अर्डर कायम गर्न मदत गर्ने नियामक संस्थाले जनाएको छ ।

यसका साथै सीएसआरसीले सोमबारबाट लागु हुने गरी प्रतिबन्धित सेयर धीतो राखी कर्जा लिने व्यवस्था समेत खारेज गरेको छ । गत साता चीनका प्रधानमन्त्री लि क्वाङले सेयरबजारमा कम्पनीहरुको मूल्यलाई स्थायीत्व प्रदान गर्न केही बाध्यताकारी नीति अघि सार्ने जनाएका थिए । त्यसै अनुरुप आज सीएसआरसीले नयाँ नीति लागू रहेको हो ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण चिनियाँ अर्थतन्त्र शिथिल अवस्थामा पुगेको थियो । चीनले अपनाएको शून्य कोभिड नीतिका कारण चीनका उद्योग तथा कलकारखानाहरु प्रभावित भए । यस्तै सन् २०२० मै रियल स्टेट क्षेत्रलाई नियन्त्रण गर्न चीनले रियल स्टेट कम्पनीहरुले लिने कर्जाको मात्रा तोकेपछि सन् २०२१ देखि रियल स्टेट कम्पनीहरु एकपछि अर्को गर्दै टाट पल्टिने अवस्थामा पुगे ।

जसकारण विभिन्न स्टक एक्सेन्जमा लिस्ट भएका ती कम्पनीहरुको सेयर सर्टसेलिङ मार्फत बिक्री हुँदै गयो र अन्तराष्ट्रिय लगानीकर्ताहरुले उक्त प्रक्रिया मार्फत प्रशस्त लाभ उठाए । यही क्रम जारी रहेको समयमा चिनियाँ सरकारले हस्तक्षेप गरी नयाँ नीति ल्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।