बैंकहरुले खराब कर्जाको धितो सकारेपछि जोखिम व्यवस्थाबाट साढे ४ अर्ब फिर्ता

0
Shares

चालु आर्थिक वर्षको पुस महिनासम्ममा वाणिज्य बैंकहरुले साढे ४ अर्ब रुपैयाँ कर्जा नोक्सानी बापत गरेको रकमबाट फिर्ता गरेका छन् । बैंकहरुले खराब कर्जालाई गैर बैंकिङ सम्पत्तिमा परिवर्तन गरेपछि नोक्सानी व्यवस्थाको रकम फिर्ता गरी नाफामा जोडेका हुन् ।

बैंकहरुले प्रवाह गरेको कर्जा उठेन भने धितो बिक्री मार्फत कर्जा असुली गर्न खोज्छन् । त्यसरी धितो बिक्री गर्न खोज्दा बिक्री नभएको खण्डमा बैंकहरु आफैँले सकार्न पाउँछन् । कोरोना महामारी र आर्थिक मन्दीका कारण बैंकहरुको खराब कर्जा बढेको थियो । खराब कर्जा बढेपछि बैंकहरुले त्यसलाई उठाउन धितो बिक्री गर्न खोजेका थिए । धितो बिक्री नभएपछि बैंकहरुले आफैँले सकार गरेर कर्जा मिलान गरेका थिए ।

चालु आर्थिक वर्षमा बैंकहरुले सकार गरेको गैर बैंकिङ सम्पत्ति विगतको तुलनामा धेरै हो । यस्तो गैर बैंकिङ सम्पत्ति अझै बढ्ने अवस्था थियो । तर, सरकारले बैंकहरुले आफ्नो नाममा राख्न पाउने जग्गाको सीमा १५३ रोपनी कायम गरेको हुनाले कम भएको हो । बैंकरहरुले कर्जा नउठ्ने र धितो सकार गर्न पनि जग्गाको सीमाका कारण कर्जा असुली प्रभावित भएको भन्दै नेपाल राष्ट्र बैंक र सरकार समेत गुहारेका थिए ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गैर बैंकिङ सम्पत्तिबाट भएको फिर्ता रकमको ६३ प्रतिशत नाफाबाट घटाइ वितरण योग्य नाफा कायम गरेका छन् । बैंकहरुले नेपाल वित्तीय लेखामान प्रतिवेदन अनुसार उठ्नुपर्ने तर उठिनसकेको ब्याजलाइ पनि आम्दानीमा जोड्न पाउने व्यवस्था छ । तर, त्यसरी जोडिएको आम्दानीबाट कर्मचारीलाई बोनस तथा सरकारलाई कर तिरे पनि सेयरधनीलाई लाभांश वितरण गर्न पाइँदैन। त्यसैले केन्द्रीय बैंकले लाभांश वितरण नगर्न भन्दै उठ्न बाँकी रहेको आम्दानीको ६३ प्रतिशत रकम नाफाबाट घटाएर वितरणयोग्य नाफा कायम गर्न भनेको हो ।

सो अनुसार चालु आर्थिक वर्षको पुससम्ममा १८ वाणिज्य बैंकले वितरण योग्य नाफाको टेबलमा गैर बैंकिङ सम्पत्तिको प्रोभिजनिङ शिर्षकमा २ अर्ब ८३ करोड १४ लाख ६० हजार रुपैयाँ राखेका छन् । यो रकम बैंकहरुको गैर बैंकिङ सम्पत्ति कायम गरेपछि नोक्सानी व्यवस्थाबाट फिर्ता भएको कुल रकमको ६३ प्रतिशत हो । उक्त रकमलाई ०.६३ ले भाग गरेपछि जोखिम व्यवस्थाबाट फिर्ता भएको कुल रकम आएको हो । बैंकहरुले सो अवधिमा जोखिम व्यवस्थाबाट कुल ४ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ फिर्ता भएको हो । पुससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले उक्त शीर्षकका लागि रकम छुट्याएका छैनन् ।

बैंकहरुले करिब साढे ४ अर्ब रुपैयाँ गैर बैंकिङ सम्पत्ति कायम गरेपछि जोखिम व्यव्सथाबाट फिर्ता गरेको रकम रहेको पूर्व बैंकर भुवन कुमार दाहालले बताए । “ब्याड लोनलाई गैर बैंकिङ सम्पत्तिमा बुक गरेको खण्डमा प्रोभिजन फिर्ता हुन्छ,” उनले भने, “त्यसरी आएको रकमको सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ । सो अनुसार बैंकहरुले वितरण योग्य नाफाको टेबलमा नाफाबाट घटाएका हुन् ।” यसरी गणना गर्दा सरकारलाई कर धेरै पाउने तथा कर्मचारले पनि बोनस पाउने भएपनि सेयरधनीले लाभांश भने नपाउने उनको भनाइ छ । यसले रिटर्न अन इक्वीटी समेत बढाउन मद्दत गर्छ ।

त्यसैगरी बैंकहरुले धितो सकार गरेपछि कर्जा रहँदैन । कर्जा नरहेपछि उक्त कर्जाका लागि गरिएको प्रोभिजनिङ्ग पनि स्वत: फिर्ता हुने पूर्व बैंकर परशुराम कुँवरले बताए । “त्यसरी फिर्ता भएको रकम बैंकले सकारेको सम्पत्ति बिक्री गरेर सेटल नगर्दासम्म फिर्ता भएको रकम लाभांशको रुपमा वितरण गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको हुनाले वितरण योग्य नाफाको टेबलमा प्रोभिजनिङ गरेका हुन्,” कुँवरले भने ।

केन्द्रीय बैंकका अनुसार बैंकहरुले कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने छ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैले सकार गर्नुपर्ने व्यवस्था छ । तर, गैर बैंकिङ्ग सम्पत्ति वापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकम मध्येको ब्याज रकमलाई नाफा/नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन । त्यस्तो रकमलाई गैर बैंकिङ्ग सम्पत्ति वापतको नोक्सानी व्यवस्थामा सार्नुपर्ने व्यवस्था छ ।

चालु आवको पुससम्ममा सबैभन्दा धेरै गैर बैंकिङ सकार्नेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले धितो सकार गरी गैर बैंकिङ सम्पत्ति कायम गरेपछि जोखिम व्यवस्थाबाट ८४ करोड रुपैयाँ फिर्ता गरेको छ । यसरी फिर्ता भएको रकमको ६३ प्रतिशत अर्थात ५२ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफाको तालिकामा प्रोभिजनिङ्ग गरेको छ । सो अवधिमा सबैभन्दा थोरै सिद्धार्थ बैंकले गैर बैंकिङ सम्पत्ती सकार गरी जोखिम व्यवसथाबाट फिर्ता लिएको छ । बैंकले एक करोड ९१ लाख रुपैयाँ मात्र उक्त शीर्षकमा फिर्ता लिएको छ । पुसम्ममा बैंकले वितरणयोग्य तालिकामा कुल फिर्ता भएको रकमको ६३ प्रतिशत अर्थात एक कारोड २० लाख रुपैयाँ जोखिम व्यवस्था छुट्याएको छ ।

प्रभु बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २७ लाख ५० हजार रुपैयाँ गैर बैंकिङ्ग समपत्तिको बिक्रीपछि हिसाब मिलान गरेर नाफामा जोडेको छ । अन्य बैंकहरुको रकम घटाउनुपर्ने र प्रभु बैंकको मात्र जोड्न पर्ने हुँदा त्यसलाई माइनस संकेत दिइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।