कामना सेवा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला


कामना सेवा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा संस्थापक सेयर लगायत अन्य व्यक्ति, संस्था, वा कम्पनीले माघ २३ गतेसम्म गोप्य शिलवन्दी आवेदन पेश गर्न सक्ने छन् । बैंकले उक्त सेयर यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्रीमा ल्याएको थियो । संस्थापक सेयरधनीमा बिक्री नभएको सेयर बैंकले सर्वसाधारणमा ल्याएको हो ।

बोलपत्र आवेदन फारम प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंबाट १०० रुपैयाँ भुक्तानी गरी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ ।

एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढी मूल्यमा शेयर खरिदका लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्नेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । केरमेट भएको ठाउंमा दस्तखत गर्नु पर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिइने छैन । अंक र अक्षरमा फरक भएमा अक्षरले लेखिएको व्यहोरालाई मान्यता दिईनेछ ।

बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नम्बर, आफ्नो खाता रहेको बैंकको नाम खाता नम्बर, टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रूपमा लेख्नु पर्नेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम २ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने सो भन्दा बढीको लागि सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन पाउने छ । बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हरेफेर गर्न वा बोलपत्र फिर्ता लिन नपाइने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।