भारतीय मालवाहक साधनलाई नेपालको सीमा क्षेत्रमा कडाई तथा व्यवस्थित गर्न नाडाको आग्रह

0
Shares

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक इन्डियन ट्रक निर्वाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्नसक्ने व्यवस्थाबाट खासगरी नेपालको मालवाहक सवारी साधनहरुको बिक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको भन्दै भारतीय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरे ।

यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतिले नेपाल भारतबीच खुल्ला सीमानाको कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेन्टस, टायर तथा अटोमोबाइल स्पेयर पाट्र्सको आयात हुँदै आएको जानकारी गराए । यसले एकातर्फ नेपालका लुब्रिकेन्टस र टायरटयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको र अर्कोतर्फ ती बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफ्नो व्यवसायमा टिकिरहन ज्यादै कठीन भएको उनको भनाई थियो ।

साथै उनले अनधिकृत आयात नियन्त्रणका लागि नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नुपर्ने देखिएको भन्दै यस्तो हुन सकेमा देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भएकोले यसतर्फ आवश्यक पहलका लागि अनुरोध गरे । सो छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरुबारे जानकारी गराए ।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पुर्याइएको र सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।

उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।