पुनर्बीमा कम्पनीले २० अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने

0
Shares

पुनर्बीमा कम्पनीहरुले आगामी एक वर्षभित्र विद्यमान चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब कायम गर्ने निर्णय गरेको हो ।

नियामक निकाय प्राधिकरणले अध्ययन प्रतिवेदनको आधारमा चुक्ता पुँजी वृद्धिको निर्णय गरेको हो । यसअघि प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि पुँजी वृद्धिको आवश्यकता सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेको थियो।  प्रतिवेदनमा स्वदेशी पुनर्बीमकको स्वजोखिम धारण क्षमता बढाउन न्यूनतम चुक्ता पुँजी वृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। स्वदेशभित्र र बाहिरको समेत पुनर्बीमा व्यापारको जोखिम भार बहनका लागि वित्तीय सबलता जरुरी भएकाले तत्कालै पुँजी वृद्धि गर्न जरुरी रहेको प्रतिवेदनमा सुझाव दिइएको थियो। 

बुधबार सम्पन्न बैठकले हाल सञ्चालनमा रहेका नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सलाई आगामी पन्ध्र दिनभित्र पुँजी वृद्धि योजना (क्यापिटल प्लान) पेश गर्न निर्देशन दिने निर्णय गरेको हो । कार्यकारी निर्देशक पौडेलले भने ‘ दुबै पुनर्बीमा कम्पनीलाई २०८१ माघ मसान्तसम्म चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय भएको छ’ । बैठकको निर्णय अनुसार एक बर्षको समय दिएर पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएको प्राधिकरणका प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । 

बीमा प्राधिकरणको बोर्डको बैठकले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेसँगै एक वर्षको अवधिमा पुनर्बीमा कम्पनीले चुक्ता पुँजी वृद्धि गनुपर्नेछ । सोको कार्ययोजना सम्बन्धित कम्पनीको सञ्चालक समितिमा छलफल भई १५ दिनभित्र प्राधिकरणमा पेश समेत गर्नुपर्नेछ ।
हाल सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ३१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । निजी लगानीमा खुलेको हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ मात्र छ । प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पुँजी कायम गर्न नेपाल पुनर्बीमा कम्पनीलाई थप ७ अर्ब ६९ लाख तथा हिमालयन रिलाई थप १० अर्ब रुपैयाँ आवश्यक पर्नेछ ।

पुँजी वृद्धिका लागि बोनस सेयर वितरण, हकप्रद निष्कासन जस्ता विकल्पहरु रहनेछ । त्यसका लागि सम्बन्धित कम्पनीको बोर्ड बैठकले निर्णय गर्नेछ । स्वदेशी बीमा कम्पनीको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै पुनर्बीमकको वित्तीय सबलता बलियो बनाउन पुँजी वृद्धि आवश्यक रहेको प्राधिकरणको तर्क छ ।

प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुको यसअघि नै पुँजी वृद्धि गरिसकेको छ । प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले गत आर्थिक बर्षमा जीवन बीमा कम्पनीका लागि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको थियो । त्यसको एक बर्षपछि पुनर्बीमा कम्पनीको चुक्ता पुँजीको वृद्धिको निर्णय भएको हो ।प्राधिकरणले यसअघि गत २०७८ चैत १० गते जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी तोकेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।