नेपाल वेयरहाउजिङ्ग ९ करोड २१ लाख खुद नोक्सानीमा

0
Shares

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड ९ करोड २१ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्म २ करोड ९९ लाख रुपैयाँभन्दा खुद नोक्सानीमा रहेको कम्पनीको नोक्सानी चालू आर्थिक वर्षको सोही अवधिमा ६ करोड २२ लाखले बढेको हो ।

चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनी नोक्सानीमा पुगेसँगै प्रति सेयर आम्दानी १३ रुपैयाँ ४० पैसा ऋणात्मक छ । यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा छ । दोस्रो त्रैमाससम्म जगेडा कोष १५ करोड २७ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ८० लाख ९४ हजारबाट ६ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष ९ करोड ८७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

सञ्चालनबाट आम्दानी १४५ प्रतिशत बढेर ६६ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा सञ्चालनबाट आम्दानी २६ लाख ९८ हजार रुपैयाँ थियो ।कम्पनीको कुल आम्दानी ६६ लाख १७ हजार रुपैयाँ रहेको छ ।

बजारमा देखिएको तरलताको अभाव, ब्याजदरमा भएको वृद्धीले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा पुगेकोले कम्पनीले तय गरेको रणनितिक कार्यदिशा अनुरुपका लक्ष्यहरु हासिल गर्न कार्यशिल रहेको भएतापनी अपेक्षित उपलब्धी हासिल गर्न चुनौति पूर्ण रहेको कम्पनीले उल्लेख गरेकाे छ । साथै, मुलुकको राजनितिक अस्थिरता तथा समग्र आर्थिक क्षेत्रमा परेको असरले औधोगिक उत्पादन कमी आउदा भण्डारणमा पनि प्रत्यक्ष प्रभाव परेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार प्रथम वर्षमा समेत १५ हजार मेट भण्डारण क्षमता भएको सुनसरी शाखामा ३० प्रतिशत भण्डारण गरिएको छ । साथै २५ हजार मेट दोस्रो इकाई पर्साको निर्माण समेत सम्पन्न भएकोले तेस्रो त्रैमासिकबाट आम्दानी सुरुवात हुने छ । त्यसैगरी १५ हजार मेट तेस्रो इकाई कपिलवस्तुको निर्माण समेत चालु आर्थिक वर्षमा सम्पन्न भई आम्दानी सुरुवात हुने कम्पनीको दाबी छ । नयाँ प्रकृतिको व्यवसायिक कारोबार भएकाले ग्राहकलाई व्यवसायका बारेमा सम्पूर्ण रुपमा बुझाउन केही थप समय लाग्ने देखिएको कम्पनीको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।