अन्तर बैंक दर बढाउन दैनिक निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता खिचेर अन्तर बैंक दर बढाउन दैनिक जसो निक्षेप संकलन उपकरण प्रयोग गरेको छ । केन्द्रीय बैंकले मंगलबार देखि बिहीबारसम्म निरन्तर निक्षेप संकलन उपकरण जारी गरेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ । बैंकहरु निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको न्यून माग तथा पुँजीकोष दबाबका कारण बैंकहरुले कर्जा लगानी गर्ने अवस्था छैन । त्यसले गर्दा पनि तरलता वृद्धिलाई सहयोग पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर नै ब्याजदर करिडोरको तल्लो सीमा हो । पछिल्ला दिनहरुमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत भन्दा माथि रहेको छ । तर, अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा तल अर्थात २.८६ प्रतिशतमा झरेको छ । त्यसले गर्दा पनि केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर बढाउने तथा प्रणालीको तरलता घटाउने निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो । त्यसका साथै यसभन्दा अघि निष्काशन गरेको निक्षेप संकलन उपकरण परिपक्क भएकाले पनि वित्तीय प्रणालीको तरलता बढेको हुनाले पुन सोही उपकरणको प्रयोग केन्द्रीय बैंकले गरेको हो।

केन्द्रीय बैंकले मंगलबार १४ दिन अवधिमा २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकर निष्काशन गरेको थियो भने बुधबार ७ दिन अवधिका लागि ३० अर्बको निक्षेप लिएको छ ।

बिहीबार पनि १४ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यसभन्दा अघि निष्काशन गरेको २४ अर्ब २० करोड रुपैयाँ बराबरको निक्षेप संकलन बुधबार परिपक्क भएको छ भने बिहीबार २० अर्ब रुपैयाँ बरावरको निक्षेप परिपक्क हुनेछ।

बुधबार निष्काशन भएको ७ दिने अवधिको ३० अर्बको निक्षेप उपकरणमा बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब ८० करोड रुपैयाँ बरावरको माग आवेदन दिएका थिए । बैंक तथा वित्तीय संस्थाले ब्याजदर धेरै मोलमोलाई नगरेपछि निष्काशन गरेको सबै निक्षेप संकलन गरेको थियो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंक तथा वित्तीय संस्थाको तरलता छोटा अवधिका लागि निक्षेप लिने हो ।

बुधबारको निक्षेप संकलन उपकरको ब्याजदर समान्य बढेको छ । बैंक तथा व्त्तिीय संस्थाले निक्षेप दिदाँ केन्दीय बैंकसंग अधिकतम ३.२४०० र न्यूनतम २.६५०० प्रतिशत ब्याज माग गरेका छन् । बिहीबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०३४६ प्रतिशत कायम भएको छ । यो औसत बयाजदर बिहीबारको भन्दा सामान्य धेरै हो । मंगलबारको निक्षेप संकलन उपकरको औसत ब्याजदर ३.०२७५ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।