यती एअरलाइन्सले थप्यो दुई जहाज, यात्रु सेवालाई उत्कृष्ट बनाउने

0
Shares

यती एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । थप गरेको यो विमान आज सांझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन एन–एओएफ र एन–एओएच पाएको छ । खरीद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने निति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी १ सातापछि उडान सेवा दिने बर्तौलाले बताए । यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले “आन्तरिक हवाईसेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्राउने निति लिएको र जहाज थप गरेसँगै यात्रुहरुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको” बताए ।

सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने लक्ष्य रहेको र यसले गुमेको बजारहिस्सा कायम गदै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनको भनाई छ । एटिआर कम्पनीको वेबसाइटका अनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ ।

यती एअरलाइन्स हालसालै एशियन लाईफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्राएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य लिएको छ । हाल यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छभने अन्तर्राष्ट्रिय तर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।