म महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैन : बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफुहरु महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले धेरैको नजर पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको बताउँदै आफुहरु महानगरमा रहुन्जेल सार्वजनिक सम्पती कसैलाई नदिने बताएका हुन् । ‘हामी काठमाडौं महानगरमा रहुञ्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिनेछैनौं,’ मेयर शाहले भने । ’

महानगरले माघ १४ गतेदेखि सुन्धारास्थित धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको थियो । तर निर्माण पूरा नभएकाले पार्किङ नगराउन पत्र काटिएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन् ।

मेयर शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्। ‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो–आज एक ऐतिहासिक काम सम्पन्न भएको छ। राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू!’

उनले नबनेको भए म ‘बीसौँ तलामा कसरी पुगेँ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुनेसमेत टिप्पणी गरेका छन्। तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन गर्ने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउन पनि जोड दिएका छन्।

यस्तै मेयर शाहले महानगरको पहलमा अहिलेको लागि निःशुल्क पार्किङ सञ्चालन भइरहेको बताउँदै धरहरामा पार्किङ बन्द नभएको र बन्द नहुने जिकिर गरेका छन्। ’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।