दाङमा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी


दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारको ४६ लाख रुपैयाँ लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन् ।

पुल नहुँदा विद्यार्थीहरु वर्खा लाग्यो भने पढ्नबाट वञ्चित हुन्छन् । ‘गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । वारी विद्यालय, पारी गाउँ छ’, स्थानीय गङ्गाराम विकले भने, ‘पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन ।’ पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ थियो ।

वर्षामा आउने खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन् । बबई–२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारिपारि गर्न सक्दैनन् । ‘विद्यार्थी पनि बर्खा भरि विद्यालय जान पाउँदैनन् । पानी पर्न थालेपछि विद्यालय जान नसकेर सबै घरमा बस्न बाध्य हुन्छन्’, स्थानीय दिला विश्वकर्माले भनिन् ।

खोलामा पुल नहुँदा यसरी वर्षेनी समस्या भोग्नु परेको उनको भनाइ थियो । पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।