प्रोग्रेशिभ फाइनान्सको २६ औं बार्षिक साधारण सभा सम्पन्न


प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७८\७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारेका थिए ।

उनले चालु आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष किशोर कुमार महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए ।

यो आफ्नो अन्तिम कार्यकाल रहेको हुँदा यसै साधारण सभाबाट आफू संस्थाको अध्यक्षबाट निवृत्त हुन लागेको जानकारी दिँदै उनले आफ्नो कार्यकालमा बसाइएको जगलाई आगामी सञ्चालक समितिले अझ बलियो बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे । उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्नुका साथै आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभाले आर्थिक वर्ष २०७८\७९को वित्तीय अवस्थाको विवरण, नाफा\नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९\८०का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आगामी चार वर्षका निम्ति छ सदस्यीय सञ्चालक समितिको निर्विरोध रुपमा चयन गरेको छ । सञ्चालकका रुपमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन आगामी चार वर्षका निम्ति चयन भएका छन् ।

वित्तीय संस्थाले हाल बाइसवटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै संस्थाले चालु आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।