साढे ५ अर्ब लगानीमा महाराजगञ्जमा लक्जरी अपार्टमेन्ट ‘कर्मा रेजीडेन्सी’ निर्माण हुँदै

0
Shares

गुड कर्मा ग्रुप अफ कम्पनीजले ५ अर्ब ६५ करोड लगानीमा काठमाडौंको महाराजगञ्जमा लक्जरी अपार्टमेन्ट– ‘कर्मा रेजिडेन्सीज’ निर्माण गरिरहेको छ ।

यो अपार्टमेन्ट काठमाडौंको आठ लेन रिङ–रोड क्षेत्रमा निर्माण हुने पहिलो लक्जरी अपार्टमेन्ट हो । महाराजगञ्जमा अवस्थित अमेरिकी राजदुतावास, अष्ट्रेलियन राजदूतावास, थाइ राजदुतावास र साउदी अरेबियाको राजदूतावासदेखि ३०० मिटरको दूरीमा अपार्टमेन्ट निर्माण भइरहेको छ ।

यस अपार्टमेन्टका कुल १६२ युनिटहरु रहेका छन् । जसमध्ये गत डिसेम्बरसम्म ५३ युनिटहरु बूक भइसकेका छन् । बूक भएका अपार्टमेन्टबाट कम्पनीले ३२ करोड ३० लाख रुपैयाँ संकलन गरेको निर्माण कम्पनीले जनाएको छ ।

अपार्टमेन्ट निर्माणका लागि आवश्यक पर्ने अधिकतम रकम कर्जामा आधारित रहेको छ । कुल ५ अर्ब ६५ करोड ८० लाखमा निर्माण भइरहेको उक्त अपार्टमेन्टको प्राम्भिक निर्माण लागत ४ अर्ब ७९ करोड आकलन गरिएको थियो । तथापि बढ्दो महङ्गीसँगै निर्माण सामाग्रीको मूल्य बढ्दा र तोकेको समयमा अपार्टमेन्ट निर्माण कार्य सुरु नहुँदा निर्माण लागत करिब १ अर्बले बढेको छ ।

गुड कर्मा ग्रुप अफ कम्पनीजले १ अर्ब ५० करोड कर्जाका लागि रेटिङ गराएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले सो रकम बराबरको कर्जा प्राप्तिका लागि बी प्लस रेटिङ गरेको छ ।

कम्पनीले सन् २०२० देखि अपार्टमेन्टको निर्माणका लागि जग्गा अधिग्रहण गर्ने कार्य सुरु गरेको थियो । सन् २०२३ को डिसेम्बर महिनासम्ममा कम्पनीको ३७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । अपार्टमेन्ट व्यवसायिक रुपमा सन् २०२५ को सेप्टेम्बर महिनादेखि सञ्चालनमा ल्याउने निर्माण कम्पनीको लक्ष्य छ ।

पछिल्लो समयमा रियल स्टेट क्षेत्रमा मानिसहरुको रुचि बढ्न सकेको छैन । यस क्षेत्र सम्बन्धित नीतिहरु परिवर्तन भइरहँदा मानिसहरुमा निराशा थपिएको छ । तर नेपाल राष्ट्र बैंक र नेपाल सरकारले यस क्षेत्रको प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना गरिरहेका छन् । रियल स्टेटबाट अप्रत्यक्ष रुपमा राम्रो आम्दानी हुने भएकाले विदेशमा बस्ने नेपालीहरुले नेपालमा अपार्टमेन्ट खरिद गर्ने कार्य बढाएका छन् । जसकारण रियल स्टेट क्षेत्रको चार्म यथावत् रहँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।