राइड सेयरिङ एपलाई पनि सेवामूलक उद्योगको मान्यता, नियमन गर्न सहज हुने

0
Shares

सरकारले राइड सेयरिङ एपलाई पनि सेवामूलक उद्योगको मान्यता दिएको छ। सरकारले पहिलो पटक राइड शेयरिङलाई उद्योगको मान्यता दिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता दिएको हो ।

मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना जारी गर्दै राइड सेयरिङ एपलाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची ९८ को क्रमसंख्या ६६ थप गर्दै उद्योगको मान्यता दिएको जनाएको छ ।

यससँगै सरकारले उद्योगको दर्ता, नियमन सम्बन्धी कामकारबाहीलाई सरल बनाउन आवश्यकता अनुसार निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्नसक्ने बताइएको छ । सेवामूलक उद्योगको दर्जा पाएसँगै अब राइड सेयरिङ एपहरू विभागमा दर्ता गर्नुपर्ने हुन्छ। कानुनी मान्यता प्रदान गरेसँगै अब राइड सेयरिङ एपहरूलाई नियमन गर्न सहज हुनेछ।

राइड सेयरिङ्ग एप नेपालमा भित्रिएको छोटो समयमै लोकप्रिय हुन पुगेको सेवा हो । नेपालमा सर्वप्रथम टुटलले २०७३ देखि नेपालको सडकमा आफ्नो सेवा सुरु गरेको थियो । टुटलपछि नेपालमा अन्य राइड सेयरिङ्ग सेवा दिने एप्लिकेसनहरू आएका हुन।

हाल नेपालमा टुटल, पठाओ, साहारा, ईन ड्राइभ, सजिलो, लुजुम, ई- ड्राइभ साथी लगायतका राइड सेयरिङ्ग सेवा दिने एप्लिकेसनहरु संचालनमा रहेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।