नेपाल लाइफ इन्स्योरेन्सले ६ महीनामा कमायो पौने ४३ करोड बढी खुद मुनाफा

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो ६ महीना अवधिमा ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३७ करोड ८८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको मुनाफा १२.९० प्रतिशतले वृद्धि भएको हो । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा नाफा हेरफेर हुनसक्छ । 

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद बीमाशुल्क संकलन अघिल्लो पुसको तुलनामा ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।  देश आर्थिक संकटमा रहेको समयमा नै नेपाल लाइफले व्यवसाय र मुनाफा दुवै वृद्धि गरेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी पनि १०.८८ प्रतिशत बढेर २४ अर्ब ९५ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  

चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको पुस मसान्तसम्ममा वार्षिक प्रति सेयर आम्दानी (ईपीएस) १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६२.८६ गुणा छ ।

इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ५८.४२ प्रतिशतले बढेर १ अर्ब ३ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ भने अन्य इक्विटी १७ करोड ४७ लाख रुपैयाँ छ । इन्स्योरेन्सको सेयर प्रिमियम रकम ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषको आकार १ अर्ब ४ करोड ८४ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने भने कुल खर्च पनि ९.७० प्रतिशतले वृद्धि भई २७ अर्ब २९ करोड ५९ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको खर्च २४ अर्ब ८८ करोड ३० लाख रुपैयाँ थियो। 

नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार १ खर्ब ८३ अर्ब ६५ करोड ४३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आवको पुससम्म जीवन बीमा कोषको आकार १ खर्ब ६५ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ बराबर रहेको थियो । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ ।

पुससम्ममा कम्पनीले २० अर्ब ६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आवमा कुल बीमा शुल्क रकम १८ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ संकलन गरेको थियो । कम्पनीको समग्र बीमा व्यवसाय ७.३७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपाल लाइफले १ खर्ब ५२ अर्ब ३९ करोड २ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ७ अर्ब ४८ करोड ३८ लाख २ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन १४.३३ प्रतिशतको वृद्धि हो । यस्तै बीमालेख धितोमा कर्जा प्रवाहबाट प्राप्त हुने ब्याज आम्दानी २९.३९ प्रतिशत वृद्धि भई २ अर्ब ३ करोड ७८ लाख २५ हजार पुगेको छ । कम्पनीमा बीमालेख त्याग्नेहरुले कुल २८ करोड ८२ लाख ४८ हजार रुपैयाँ फिर्ता लगेका छन् । यस्तो रकम अघिल्लो पुसको तुलनामा २६.७७ प्रतिशत वृद्धि भएको हो । यसरी कम्पनीको समग्र सूचांकमा प्रगति गर्न सफल सफल भएको छ ।

नेपाल लाइफले आफ्ना अभिकर्तालाई १ अर्ब ४९ करोड २२ लाख ५ हजार रुपैयाँ कमिशन खर्च गरेको छ । नेपाल लाइफमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या १३ लाख ९० हजार ४३० वटा रहेको छ । अघिल्लो वर्ष यस्तो बीमा पोलिसी संख्या १२ लाख ८६ हजार ६९८ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।