बैंक तथा वित्तीय संस्थामा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति, कर्जा अपलेखन ११ गुणाले बढ्यो


बैंक तथा वित्तीय संस्थाको गरै बैंकिङ सम्पत्ति र कर्जा अपलेखन अस्वभाविक रुपमा बढेको छ । ऋणीले समयमा कर्जाको सावा व्याज भूक्तानी गर्न नसक्दा बढेको खराब कर्जाले गैर बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढेको हो ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण अर्थतन्त्रमा देखिएको नकारात्मक असरसँगै ऋणीको आम्दानी तथा व्यवसायमा आएको गिरावटले कर्जा भुक्तानीमा समस्या भयो । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा डिफल्ट रेट बढ्न गयो । कर्जा समयमा नउठेपछि बैंक तथा वित्तीय संस्थाले त्यस्तो ऋणको सतप्रतिशत जोखिम व्यवस्था गरेर असुलिको प्रक्रिया अघि बढाए ।

बैंक तथा वित्तीय संस्थाले कर्जा दिदाँ लिएको धितो बिक्री गरेर कर्जा असुल गर्न खोजे । धितो समेत बिक्री नभएपछि बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ती सकार्ने र अपलेखन गर्ने क्रम बढन् गएको एक बैंकरले बताए । “कर्जा उठ्दैन,” ती बैंकरले भने, “कर्जा नउठ्ने निश्चित भएपछि खराब कर्जाको अंश घटाउन भएपनि गैर बैंकिङ सम्पत्तिको रुपमा धितो सकार गर्नु पर्छ ।”

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको छ । यो गैर बैंकिङ सम्पत्ति गत असार मसान्तसम्मको तुलनामा ५ अर्ब २ करोड रुपैयाँले धेरै हो । गत असारसम्म्मा बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति १८ अर्ब ६८ करोड रुपैयाँ बराबरको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गैर बैंकिङ सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ७२.३५ प्रतिशतले बढेको हो । गत आवको पुस मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाको कुल गैर बैंकिङ सम्पत्ति १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्र थियो ।

त्यसैगरी बैंकहरुको गैर बैंकिङ सस्म्पत्तिसँगै कर्जा अपलेखन पनि उच्च दरमा बढेको छ । चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले एक अर्ब ६८ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा अपलेखन गरेका छन् । चालु आवको ६ महिनाको कर्जा अपलेखन गत आवको सोही अवधिको तुलना ११ गुणाले धेरै हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा अपलेखन १४ करोड ८० लाख रुपैयाँ बराबरको मात्र थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको मात्रै गैर बैंकिङ सम्पत्ति १९ अर्ब ८७ करोड रुपैयाँ बराबरको छ । त्यसैगरी विकास बैंकको दुई अर्ब ५१ करोड र फाइनान्स कम्पनीहरुको एक अर्ब ३१ करोड रुपैयाँ बरावरको रहेको छ ।

त्यसैगरी चालु आवको पुससम्ममा वाणिज्य बैंकहरुको मात्रै कर्जा अपलेखन एक अर्ब ६१ करोड रुपैयाँ बराबरको छ । त्यसैगरी विकास बैंकको ३ करोड र फाइनान्स कम्पनीहरुको ४ करोड ९० लाख रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरको छ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैँले सकार गर्नु पर्नेछ । यसरी बैंक वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति समेत बिक्री गर्न नसकेको अवस्थामा त्यसलाई अपलेखन गर्न सक्छन ।

तर, कर्जा अपलेखन गर्दा बैंक तथा वित्तीय संस्थाले कर्जा खराब बर्गमा परी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था भई सकेको हुनुपर्ने व्यवस्था छ । कर्जा असूलीको लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्रीको प्रक्रिया सम्पन्न गरेको हुनुपर्छ । साथै कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य रुपमा धितो सकार गरेको अवस्थामा मात्र कर्जा अपलेखन गर्न सक्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।