घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री प्रवर्द्धन गरिने : मन्त्री रिजाल


उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्द्धन गरिने बताएका छन् । बिहीबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन् । 

ठूला उद्योगी हाबी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट पारेका छन् । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाईने समेत बताए ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनकाे भनाइ छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोहि अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धन सम्बन्धि रोड म्याप समेत प्रस्तुत गरिएको थियो । 

छलफलमा अर्थमन्त्री डा. प्रकाश शरण महत र कानुन मन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्री महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । त्यसैगरी कानुनमन्त्री गुरुङले  घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुन प्रति संवेदनशील हुनुपर्ने बताए ।    

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो । त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मुख्य सचिवहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।