संस्थागत र व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर फरक एक प्रतिशत विन्दु, स्थायी निक्षेप सुविधा सुरु


नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर अन्तर एक प्रतिशत विन्दु कायम गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत एक यस्तो अन्तर प्रतिशत विन्दु कायम गरेको हो ।

नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर एउटै हुन नहुने भन्दै फरक राख्न भनेको थियो । सो अनुसार केन्द्रीय बैंकले संस्थागत निक्षेपको व्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत विन्दु कम हुनु पर्ने व्यवस्था गरेको थियो । तर, पछिल्लो समयमा घट्दो ब्याजदरका कारण संस्थागत निक्षेपकर्तालाई धेरै असर गरेको भन्दै केन्द्रीय बैंकले २ प्रतिशत विन्दुको फरकलाई घटाई एक प्रतिशतमा कायम गरेको हो ।

केन्द्रीय बैंकले दोस्रो त्रैमासको समिक्षा मार्फत फागुन महिना अर्थात भोलि देखि स्थायी निक्षेप सुविधा सुरु गर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय प्रणालीको अधिक तरलता भएको अवस्थामा बैंक वित्तीय संस्थाले सिधै केन्द्रीय बैंकमा निक्षेप राख्न सक्ने व्यवस्था गर्ने भनेको थियो । सो अनुसार केन्द्रीय बैंकले कार्यविधि बनाइरहेको थियो । स्थायी निक्षेप सेवा सुरु गर्नका लागि आवश्यक कार्यविधि तयार गरिसकेको हुनाले फागुनदेखि यसलाई कार्यान्वयनमा ल्याउने निर्णय केन्द्रीय बैंकले गरेको हो ।

पछिल्लो समयमा केन्द्रीय बैंकले अल्पकालिन व्याजदर स्थिर राख्नका लागि निरन्तर निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ । स्थायी निक्षेप सुविधा कार्यान्वयनमा आएपछि बैंकहरुले केन्द्रीय बैंकले निष्कासन गर्ने निक्षेप संकलन उपकरण पर्खिराख्नु पर्दैन । यसले अधिक तरलता व्यवस्थापनलाई धेरै सहज बनाउने केन्द्रीय बैंकको अपेक्षा छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखेको छ । त्यसैगरी अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई पनि परिवर्तन गरेको छैन ।

त्यसैगरी समिक्षामार्फत कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गर्ने भएको छ । आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको समीक्षामा उल्लेख छ । आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने समेत केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।