घट्दो मुद्रास्फीति र विप्रेषणमा भएको वृद्धि नेपाली अर्थतन्त्रका लागि सकरात्मक : आइएमएफ


अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पछिल्लो समयमा घट्दो क्रममा रहेको मुद्रास्फीति, पर्यटन क्षेत्रमा फर्किएको रौनक र विप्रेषणमा भएको वृद्धि नेपाली अर्थतन्त्रका लागि सकरात्मक भएको जनाएको छ ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ३.१ प्रतिशत रहने नेपालका लागि आइएमएफ मिसन प्रमुख टिडियन किन्डाले बताए । आर्थिक वृद्धि दर बढाउनका लागि नेपाल सरकारले पुँजीगत खर्च बढाउनु पर्ने उनको धारणा रहेको छ ।

विस्तारित कर्जा सुविधा (इसिएफ)को चौथो किस्ता निकासा गर्नुअघि आइएमएफको उच्चस्तरीय समिति नेपालको आर्थिक तथा वित्तीय प्रतिबद्धताको बारेमा अध्ययन गर्न नेपाल आएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ मिसन प्रमुख टिडियन किन्डाले नेपालको समष्टिगत अर्थतन्त्र, कर्जाको अवस्था, पुँजीगत खर्चका विषयमा चर्चा गरेका छन् ।

चालु आवको ६ महिना बितिसक्दा समेत सरकारले पुँजीगत खर्च बढाउन नसक्दा अपेक्षा अनुरुपको वृद्धि दर हासिल गर्न नसकेको टिडियन किन्डाको भनाइ छ । अर्थ मन्त्रालयले पुँजीगत खर्च वृद्धिका लागि विभिन्न कार्यक्रमहरु अघि सारेता पनि पर्याप्त नभएको र त्यसका लागि ती गतिविधिहरुमा केही परिवर्तन गर्नुपर्ने धारणा उनको रहेको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले अघि सारेको चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनले कर्जा प्रवाहमा सकरात्मक भूमिका खेलेको बताउँदै किन्डाले चालु पुँजी प्रकृतिको कर्जा घट्नु र आवधिक प्रकृतिको कर्जा (टर्म लोन) बढ्नु अर्थतन्त्रका लागि राम्रो भएको जिकिर गरे ।

आवधिक प्रकृतिको कर्जामा भएको वृद्धिले लगानीका निमित्त सकरात्मक सूचक रहेको टिडियनले बताए । समग्र दक्षिण एशियाली राष्ट्रहरुको तुलनामा नेपालको कर्जा प्रवाह र कुल ग्रास्थ उत्पादनको अनुपात उच्च रहेता पनि त्यसको प्रभाव आर्थिक वृद्धि दरमा नदेखिएको उनको भनाइ छ । टिडियन भन्छन्,‘हाल कर्जा प्रवाहको कम्पोजिसन हेर्दा आवधिक प्रकृतिको कर्जा बढी प्रवाह भएको देखिएको छ । वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंकले दिएको कर्जा सुविधाको प्रभाव कस्तो रहन्छ भन्ने यकीन छैन, हामी ट्रान्जिसनको स्टेजमा छौँ र आर्थिक वृद्धि हासिल गर्न सरकार र राष्ट्र बैंकले निरन्तरता दिनुपर्छ ।’

यस्तै सरकारले पुँजीगत खर्च वृद्धिमा मात्रै केन्द्रीत नभई आन्तरिक राजस्व बढाउनतर्फ ध्यान दिनुपर्ने उनको धारणा छ । मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर तथा व्यक्तिगत आयकर प्रणालीमा सुधार गर्न उनले सुझाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।