टेलिकमको मुनाफासँगै घट्यो प्रतिसेयर आम्दानी, लगानी साढे ७ अर्ब नाघ्यो

0
Shares

नेपाल टेलिकमको खुद नाफा गत आर्थिक वर्षको पुसको तुलनामा ७.५९ प्रतिशतले घटेको छ । गत पुसमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा अवधिमा कम्पनीको आम्दानी घट्दा वार्षिक प्रतिसेयर आम्दानी समेत संकुचित बनेको हो । गत वर्ष वार्षिक४७ रुपैयाँ २८ पैसा रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी नाफा घटेसँगै हाल ४३ रुपैयाँ ६८ पैसामा झरेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात २०.६२ गुणा छ ।

चुक्ता पुँजी १८ अर्ब रहेको यस कम्पनीमा ९१.५३ प्रतिशत सेयर सरकारी स्वामित्वमा छ भने सर्वसाधारण समूहमा जारी सेयर जम्मा ८.४७ प्रतिशत अर्थात् १ करोड ५२ लाख ४६ हजार कित्ता मात्र छ । यस्तै टेलिकमको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख ४२ हजार रुपैयाँ रहेको छ । जुन ४.३०% कम हो । कम्पनीले गत आवबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिएको थियो ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार दूरसञ्चार सेवाबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ अर्ब २४ करोड ६७ लाख ८० हजार आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १८ अर्ब ७ करोड ७३ लाख ४९ हजार रुपैयाँ थियो ।

दूरसञ्चार सेवाबाहेक वित्तीय (ब्याज) आम्दानी पनि घटेर ३ अर्ब ६१ करोड ६१ लाख ५५ हजारमा खुम्चिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा अहिले यस्तो आम्दानी ८.६१% घटेको हो । बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउँदा कम्पनीको ब्याज आम्दानी घट्न पुगेको हो । कम्पनीको अल्पकालीन र दीर्घकालीन लगानी रकम भने ४.९३% बढेर ७ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत असारसम्ममा ७ अर्ब १९ करोड ६५ लाख थियो ।

चालु आवको ६ महीनामा टेलिकमको अन्य श्रोतबाट हुने आम्दानीमा भने उत्साहजनक सुधार भएको छ । टेलिकमले गत आवको यसै अवधमिा ६ करोड ६८ लाख अन्य स्रोतबाट आम्दानी गरेकोमा ५६७.३८% बढेर ४४ करोड ६४ लाख पुगेको छ । प्राशसनिक खर्च ३ अर्ब ५८ करोड ६२ लाखबाट २% घटेर ३ अर्ब ५१ करोड ४४ लाख र सञ्चालन तथा मर्मत खर्च ३ अर्ब ४४ करोड १७ लाखबाट ७.४२% घटेर ३ अर्ब १८ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।

प्रत्येक्ष ‘भ्वाइस’ सेवाभन्दा निश्चित ब्रोडब्यान्डमार्फतका सेवातिर ग्राहकको आकर्षण बढ्नु, ब्रोडब्यान्ड सर्भिस विस्तारले मोबाइल डाटामा कमी आउनुजस्ता कारणले आम्दानी घट्नुलाई कम्पनीले चुनौतीका रुपमा औंल्याएको छ । पछिल्ला दिनहरूमा टेलिकममा घट्दो बिजनेस र नाफा चुनौतिका रुपमा देखिन थालेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।