मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उच्च गिरावट

0
Shares

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार मौद्रिक नीतिको समीक्षापछि मंगलबार बजार सूचक नेप्से ३०.५६ अंकले घटेको हो ।

विशेषतः सेयर बजारमैत्री नीति आउने पर्खाईमा रहेका लगानीकर्तालाई समीक्षाले सेयर बजार सम्बन्धी कुनैपनि विषयवस्तुमा सम्बोधन नगरेपछि लगानीकर्ताको मनोबाल कमजोर बनेको हो । सेयर बजारमा राष्ट्र बैंकले लागू गरेको मार्जिन कर्जा कायम प्रतिव्यक्ति १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हटाउन लगानीकर्ताले माग गर्दै आएका थिए । तर सो समीक्षाले सो विषय नसमेटेको हो । समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई २ करोडसम्मको साना तथा मझौला कृषि कर्जामा सहजता र संस्थागत मुद्दती निक्षेप व्यक्तिगत निक्षेपभन्दा एक प्रतिशत कम गर्ने बाहेक मुख्य रुपमा समीक्षाले ठूलो परिवर्तन नगरेको हो।

माघ महीनाको अन्तिम दिन सोमबार सेयर बजारमा १५.३३ अंकले घटेर २१०१.१६ बिन्दुमा पुगेको थियो । तर फागुन १ गते नै नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा झरेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स ५.९९ अंक, फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि निक्षेप तथा कर्जाको ब्याजदर घटाएकाले मौद्रिक नीतिको असर सकिएपछि बजारले लय समात्ने अनुभवी लगानीकर्ताहरु बताउँछन् । बैंकिङ्ग प्रणालीमा प्रयाप्त लगानीयोग्य रकम रहेकाले पनि सेयर कर्जामा वृद्धि भई बजार बढ्ने उनीहरुको आंकलन छ ।

मंगलबार ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर ८२ हजार ८९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार ३१४ कम्पनीको १ करोड १ लाख कित्ता सेयर ७५ हजार पटक खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ५८ करोड ६९ लाख थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १अर्ब ८ करोड २ लाख रुपैयाँले बढेको हो ।

आज कारोबारमा आएको १३ ओटै उपसमूहगत सूचक ओरालो लागेका छन् । विकास बैंक सर्वाधिक २.४० प्रतिशतले घटेको बजारमा अन्य २.२७, फाइनान्स २.२० र लगानी २.०६ प्रतिशतले घटेको छ । बैंकिङ्ग, होटल तथा पर्यटनमुलक, जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, लघुवित्त र निर्जीवन बीमाको इन्डेक्स १ प्रतिशतभन्दा अधिक घटेका छन् ।

यसदिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सेयर सर्वाधिक ३२ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको ४ लाख ७८ हजार ५६० कित्ता सेयर आज ६ हजार ८०४ पटकमा खरिद बिक्री भएको हो । कम्पनीको सेयर मूल्य २० रुपैयाँ १० पैसाले घटेको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ११ करोड ९२ लाख ९५ हजार रुपैयाँ, सानिमा मिडल तमोरको १० करोड ६ लाख ४९ हजार, सगरमाथा जलविद्युतको ९ करोड ३१ लाख र जोशी हाइड्रोपावरको ८ करोड ६६ लाख माथिको सेयर कारोबार भएको छ ।

मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त, सुपरमाई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सेयर मूल्य बढेसँगै बोटलर्स नेपाल (बालाजु)को मूल्य ७६९५ रुपैयाँ ८० पैसा, समाज लघुवित्तको १२२८ रुपैयाँ ७० पैसा, सुपरमाई हाइड्रोपावरको ७३९ रुपैयाँ २० पैसा पुगेको छ ।

यस्तै जोशी हाइड्रोपावर ८.३० प्रतिशत, दोल्ती पावरको सेयर मूल्य ७.५० प्रतिशत, मैलुङ्गखोला जलविद्युत ६.८८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ६.७० प्रतिशत, हिमालयन पावर पार्टनरको ५.३७ प्रतिशत, सामलिङ्ग पावरको ४.५९ प्रतिशत र सानिमा मिडिल तमोरको ३.८६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यता मंगलबार गुराँस लघुवित्तका सेयरधनीले सर्वाधिक ९.७० प्रतिशतले गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकले ५.८४ प्रतिशत, श्रृजनशील लघुवित्त ४.९२ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ४.८५ प्रतिशत र चिरख्वा हाइड्रोपावरको ४.८२ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण घटेर ३२ खर्ब ५४ अर्ब ७९ करोड ४२ लाख १४ हजार ९९७ रुपैयाँमा समेटिएको छ । सोमबार ३३ खर्ब २ अर्ब ८४ करोड १८ लाख रुपैयाँ थियो । मंगलबार मात्रै ४८ अर्ब ४ करोड ७६ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।