स्थायी निक्षेप सुविधा सातामा दुई दिन,गलत विवरण दिए ब्याज फिर्ता सँगै बैंकदरमा हर्जना

स्थायी निक्षेप सुविधा सातामा दुई दिन,गलत विवरण दिए ब्याज फिर्ता सँगै बैंकदरमा हर्जना

नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई स्थिर राख्न तथा तरलता व्यवस्थापनको नयाँ उपकरण 'स्थायी निक्षेप सुविधा' प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा धेरै भएको तरलता केन्द्रीय बैंकमा ब्याज पाउने गरी निक्षेप राख्न सक्ने व्यवस्था सुरुवात गरेको हो ।

केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली २०७८ र खुला बजार कारोबार सम्बन्धी कार्यविधि २०७८ को संशोधन गरेर फागुन १ गते मंगलबार देखि सुरु गरेको हो । केन्द्रीय बैंकले सुरु गरेको नयाँ उपकरणको अवधि ४ दिनको छ भने सातामा दुई दिन आइतबार र बुधबार मात्र यस्तो सुविधा उपलब्ध हुनेछ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा निक्षेप राख्दा ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशतका दरले ब्याजदर पाउनेछन् ।

विनियमावली अनुसार ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनको लागि विनियम योग्यता एवम् तोकिएका शर्त र मापदण्ड पूरा गरेका काउण्टरपार्टीलाई कार्यविधि बमोजिम स्थायी निक्षेप सुविधा उपलब्ध गराइने छ । यो सुविधा अन्तर्गत जम्मा हुन आएको निक्षेप अन्य प्रयोजनको लागि प्रयोग गर्न नपाइने व्यवस्था विनियमावलीमा छ । तर, गलत स्वघोषणा तथा विवरण पेश गरी बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा लिएको पाइएमा भुक्तान भएको ब्याज असुल गरी बैंकदरमा हर्जना लगाइने व्यवस्था विनियमावलीमा छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदर(७ प्रतिशत)मा स्थायी तरलता सुविधा, नीतिगत दर(५.५ प्रतिशत)मा ओभरनाईट रिपो तथा तल्लो सीमाको रुपमा निक्षेप संकलन उपकरण वा स्थायी निक्षेप सुविधाको दर(३ प्रतिशत) हुनेछ । आवश्यकता अनुसार ब्याजदर करिडोरको तल्लो सीमाको ब्याजदरमा निक्षेप संकलन बोलकबोल समेत गर्न सक्ने व्यवस्था विनियमावलीमा छ । कुल बक्यौता रकम ३० अर्बमा ननाघ्ने गरी दैनिक १० अर्बसम्म नियमित खुला बजार कारोबार अन्तर्गत रिपो, रिभर्स रिपो र निक्षेप संकलन कारोबार सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी विभागीय प्रमुखलाई हुने विनियमावलीमा उल्लेख छ।

खुला बजार सञ्चालन कार्यविधि अनुसार ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा स्थायी निक्षेप सुविधालाई लिइएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको ब्याजदरमा निक्षेप संकलन बोलकबोल समेत गर्न सकिने छ । योग्यता पुगेका काउण्टरपार्टीलाई निश्चित शर्त तथा मापदण्ड पूरा भएको स्वघोषणाको आधारमा यो सुविधा उपलब्ध हुनेछ ।

काउन्टरपार्टिले अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । त्यसैगरी पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदर भन्दा कम नभएको हुनुपर्ने व्यवस्था छ ।

स्थायी निक्षेप सुविधाको न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने कार्यविधिमा उल्लेख छ । काउण्टरपार्टीलाई यो सुविधा हरेक आइतबार र बुधबार दिनमा एकपटक मात्र उपलब्ध हुनेछ । चार दिन अवधिका लागि उपलब्ध हुने यो सुविधा कम अवधिका लागि समेत प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ ।

स्थायी निक्षेप सुविधा उपयोग गर्नका लागि रीतपूर्वकको निवेदन पेश गरेका काउण्टरपार्टीको नाममा सोही दिन यस बैंकमा निक्षेप रकम जम्मा गर्नु पर्नेछ । यसरी जम्मा गरिएको निक्षेप वापत प्रमाणपत्र प्रदान समेत निक्षेपकर्ता संस्थाले पाउनेछन । भुक्तानी अवधि समाप्त भए पछि निर्धारित ब्याजसहित सो निक्षेप रकम सम्बन्धित काउण्टरपार्टीको खातामा जम्मा हुनेछ ।

काउण्टरपार्टीले गरेको स्वघोषणा सम्बन्धित सुपरिवेक्षण विभागबाट नियमित रुपमा निरीक्षण/सुपरिवेक्षण हुनेछ । भुक्तानी मिति अगावै सम्बन्धित काउण्टरपार्टीलाई निक्षेप फिर्ता हुनेछ छैन । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। तर, वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाउनेछन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ फागुन २०८०, मंगलबार १६ : २५ बजे