उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत छ : खानेपानीमन्त्री


खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी उपलब्ध गराउन विभिन्न स्थानीय तहमा रहेका पानीको स्रोत खोजीको प्रयास भइरहेको बताए ।

“काठमाडौँ उपत्यकामा दैनिक ५१ करोड लिटर पानीको माग छ । हाल १७ करोड लिटरमात्र उपलब्ध गराउन सकिरहेका छौँ”, मन्त्री यादवले भने । काठमाडौँवासीलाई स्वच्छ पानी उपलब्ध गराउनका लागि स्थानीय सरकारले स्थानीय स्तरमा पानीको स्रोत पहिचान तथा खोजी गरी संरक्षण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

खानेपानीमन्त्री यादवले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनःसंरचना आवश्यक रहेको बताए । उनले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष बितिसक्दा पनि पर्याप्त पानी उपत्याकामा ल्याउन नसकिएको बताए।

भौतिक संरचना, प्राविधिक जनशक्ति, आवश्यक उपकरणलगायत अभावका कारण मेलम्ची खानेपानी आयोजनाले निरन्तरता पाउन नसकेको मन्त्री यादवको भनाइ थियो । उनले जलवायु परिवर्तनको कारण मुलुकका हिमाल पग्लने, पानीका मुहान तथा खोला सुक्ने समस्या देखिएको बताए । जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावले खानेपानीको उपलब्धतामा चुनौती थपिँदै गएको उनको भनाइ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ फागुन २०८०, बुधबार  ०६ : ४४ बजे