टोयोटाको क्षेत्रीय बिक्रेता अटोवेजको आम्दानीमा गिरावट, रेटिङ पनि घट्यो

0
Shares

विश्व विख्यात अटोमेकर–टोयोटाका सवारी साधनहरुको नेपालका लागि क्षेत्रीय बिक्रेता– अटोवेज प्रालिको आम्दानीमा गिरावट आएको छ ।

आर्थिक वर्ष २०२३ मा कम्पनीले १ अर्ब ४० करोड १० लाख सञ्चालन आम्दानी गरेको छ । यस अघि आव २०२२ मा कम्पनीले २ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आव २०२२ को तुलनामा आव २०२३ मा कम्पनीको सञ्चालन आम्दानी ४०.६३ प्रतिशतले घटेको हो ।

कम्पनीको आम्दानीमा आएको गिरावटका कारण ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफामा समेत गिरावट आएको छ । आव २०२२ मा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको ३.३ प्रतिशत थियो भने आव २०२३ मा सो नाफा २.५ प्रतिशतमा खुम्चिएको हो ।

सन् २००२ मा स्थापना भएको कम्पनीले विशेषतः गण्डकी र लुम्बिनी क्षेत्रमा टोयोटा, इचर र कोमात्सु ब्रान्डका कर्मेशियल भेइकल, निर्माण उपकरण सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ । साथै कम्पनीले टोयोटा, इचर र कोमात्सु ब्रान्डका स्पेर पार्टस् तथा एसेसोरिजको समेत बिक्री वितरण गर्छ । सन् २०२३ देखि कम्पनी बुल ब्रान्डका कर्मेशियल इक्युमेन्टको राष्ट्रिय वितरकमा नियुक्त भएको छ ।

कम्पनीले १ अर्ब ३८ करोड १० लाख बराबरको कर्जाका लागि रेटिङ समीक्षा गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ६४ करोड ३० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी रेटिङ गरेको छ । यसअघि १८ करोड ४० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको थियो । कम्पनीको आम्दानीमा आएको गिरावटसँगै एजेन्सीले रेटिङ घटाएर बी रेटिङ गरेको हो ।

यस्तै ७३ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ पुनः पुुष्टि गरेको छ । यस अघि १ अर्ब १९ करोड ७० लाख बराबरको अल्पकालीन कर्जाका लागि समेत ए४ रेटिङ गरेको थियो ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ०.२ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।