ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर , ६५ जनाको जग्गा जफत हुने

0
Shares

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र विचौलियासहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने १२ जनालाई दोषी ठहर गरेको हो । त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।

विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ । सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी,शोभाकान्त ढकाल, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी लगायतलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

ठहर भएका १२ जनालाई ९ करोड रुपैयाँ दामासाही जरिबाना र २ वर्ष कैदको फैसला सुनाएको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले चार वर्षअघि अर्थात् २०७६ माघ २२ गते १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०७६ माघ २२ गते दर्ता भएको मुद्दाको २०८० माघ २ गतेबाट सुनुवाई सुरु भएको थियो । निरन्तर २३ दिनको लगातार सुनुवाईपछि अदालतले आज फैसला सुनाएको हो ।

जग्गा हिनामिनासम्बन्धी मुद्दामा तत्कालीन मन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठले भने सफाई पाएका छन् । अदालतले अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविलाल पन्तलाई २ वर्ष कैद र जनही ८० लाख ४८ हजार जरिवानाको फैसला सुनाएको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई बिगो र जरिवाना तथा ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।