म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए ।
“चन्दा र तत्कालीन गाविस–जिविसको बजेट परिचालन गरेर मार्गमात्र खोलिएको सडक साँघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो”, उनले भने,“सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहजरूपमा आवतजावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरेका छौँ ।”
सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०\०८१ मा गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ र मङ्गला गाउँपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेका छन् । गत पुस ५ गते ७१ लाख ४० हजार पाँच सय ७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तीव्रता दिएको मङ्गला गाउँपालिकाका सबइन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख रुपेन्द्र अधिकारीले बताए ।
“काफलचौर–सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ”, उनले भने,“छ मिटर चौडाइका दरले दुई सय ५० मिटर लम्बाइमा सडक ढलान गर्ने तयारी भएको छ ।” ढलानका लागि शुक्रबारदेखि सो सडकमा सवारीसाधन आवतजावत बन्द गरिएको छ ।
आगामी असार १० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा तीन महिना अगाडि नै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारीसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाका सुपरभाइजर श्यामहरि पण्डितले बताए । यस सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् । सडकको प्रवेशविन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष ५० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत एक सय ७८ मिटर ढलान भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए ।
सडकको भरजुला–थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकारअन्तर्गतको पूूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ बजेटबाट ढलानसहितको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अघि बढेको छ । गाउँपालिकाले ठेक्का लगाउँदा बचेको नौ लाख रुपैयाँ बजेट काफलचौर–सल्यान खण्डको स्तरोन्नतिका लागि विनियोजन गरेको छ । यो मङ्गला गाउँपालिकाको केन्द्रबाट बस्ती जोड्ने प्राथमिकताप्राप्त आयोजना भएको वडाध्यक्ष खाती क्षेत्रीले बताए । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया