शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा मोर्टसको आम्दानीमा भारी गिरावट


व्यापारिक घराना शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा मोटर्स प्रालिको आम्दानीमा भारी गिरावट आएको छ ।

आर्थिक वर्ष २०२२ मा १३ अर्ब ६१ करोड ८० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँमा खुम्चिएको हो । एक वर्षको अवधिमा कम्पनीको आम्दानी ४२.६३ प्रतिशतले घटेको छ ।

कम्पनीको आम्दानीमा गिरावट आउँदा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफामा समेत गिरावट आएको हो । आव २०२२ मा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको १४.९३ प्रतिशत थियो भने आव २०२३ मा ९.४३ प्रतिशतमा खुम्चिएको हो ।

सन् २०१० मा एसजी ग्लोबल प्रालिका नामबाट स्थापना भएको कम्पनी सन् २०१५ मा जगदम्बा मोटर्स प्रालिमा परिणत गरिएको थियो । कम्पनी टिभिएस ब्रान्डको आधिकारिक बिक्रेता हो । सन् २०२० देखि कम्पनीले प्रोटोन ब्रान्डका कारहरुको आधिकारिक बिक्रेता समेत रहेको छ ।

कम्पनीले ५ अर्ब ३८ करोड ८१ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब १८ करोड ५४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि त्रिपल बी प्लस र ४ अर्ब २० करोड २३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए २ रेटिङ दिएको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.५५ गुणा रहेको छ ।

कम्पनी शाहिल अग्रवालको नेतृत्वमा सञ्चालनमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।