अधिक तरलता भएपछि ६० अर्बको स्थायी निक्षेप सुविधा प्रयोग, ट्रेजरीको ‘डिस्काउन्ट रेट’ घट्यो

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाको उच्च प्रतिस्पर्धाले गर्दा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ भने स्थायी निक्षेप सुविधाको प्रयोग बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले फागुन ६ गते आइतबार मात्रै ६० अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि ६० अर्ब रुपैयाँ ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा सिधै निक्षेप राखेका हुन । केन्द्रीय बैंकले फागुन एक गतेदेखि व्याजदरलाइ स्थिर राख्ने तथा तरलता व्यवस्थापन गर्ने नयाँ उपकरणको रुपमा स्थायी निक्षेप सुविधा सुरु गरेको हो ।

आइतबार बैंक वित्तीय संस्थाले दोस्रो पटक स्थायी निक्षेप सुविधा प्रयोग गरेका हुन । यसभन्दा अघि फागुन २ गते बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा अन्तर्गत केन्द्रीय बैंकमा निक्षेप राखेका थिए ।

केन्द्रीय बैंकले अधिक तरलताका कारण अन्तर बैंकदरमा अस्वभाविक उतारचढाव नआओस भनेर स्थायी निक्षेप सुविधाको सुरुवात गरेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई स्थिायित्व दिनका लगि ब्याजदर करिडोरको कार्यन्वयन गर्दै आएको छ । सो अनुसार करिडोरको तल्लो सीमा स्थयी निक्षेप सुविधाको दर ३ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले अन्तर बैंक दरलाई स्थायी निक्षेप सुविधा भन्दा माथि राख्नका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको हो ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो औसत अन्तर बैंकदर ३.०१ प्रतिशत रहेको छ । त्यसैगरी गत साताको अन्तिम दिन शुक्रबारसम्ममा बैंकिङ प्रणालीमा एक खर्ब २१ अर्ब तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि आइतबार निष्कासन भएको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि घटेको छ । आइतबार केन्द्रीय बैंकले २८ दिने र ९१ दिने गरी कुल १२ अर्ब २३ करोड रुपैयाँ बरावरको ट्रेजरी बिलस नविकरण गरेको छ । त्यसमध्ये ५ अर्ब रुपैयाँ बराबरको २८ दिने रहेको छ भने ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ९१ दिने रहेको छ ।

आइतबार नविकरणका लागि निष्सका भएका दुबै ट्रेजरी बिल्का लागि बंैक तथा वित्तीय संस्थाले ५ गुणा धेरै माग गर्दै आवेदन दिएका छन। २८ दिनेको लगि बैंक वित्तीय संस्थाले २८ अर्ब २१ करोड रुपैयाँ बरावरको आवेदन गरेको छ भने ९१ दिनेको लागि २८ अर्ब ३९ करोड रुपैयाँ बराबरको माग आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ ।

आइतबार नविकरण भएको २८ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट २.९०६८ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट यसभन्दा अघि फागुन १ गतेको भन्दा थोरै हो । फागुन १ गते २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट ३.०३२२ प्रतिशत कायम भएको थियो । त्यसैगरी आइतबार ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.१३८४ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट फागुन १ गतेको भन्दा थोरै हो । फागुन १ गते ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.२०२६ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।