गोल्छा समुहको हुलास फिन सर्भको खुद नाफा ९४% घट्यो

0
Shares

गोल्छा समुहको हायर पर्चोज फाइनान्सिङ संस्था हुलास फिन सर्भको खुद नाफा ९३.८६ प्रतिशतले घटेको छ । समग्र व्यवसाय नै घटेपछि कम्पनीको सञ्चालन नाफा सहित खुद नाफामा त्यसको असर देखिएको हो ।

नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा लगानी गर्न स्वीकृती पाएको यस कम्पनीले आर्थिक वर्ष २०७९–८० मा ९१ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको हो । आव २०७८–७९ मा कम्पनीले १४ करोड ९१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  गत आवको सुरुका ६ महीना अवधिमा  आयात नियन्त्रण्का लागि सरकारले १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइल आयातमा रोक लगाएपछि संस्थाको आम्दानी घटेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा १७ करोड ६५ लाख २२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको कम्पनीको आव २०७९–८० मा  सञ्चालन नाफा ३ करोड २९ हजार रुपैयाँमा खुम्चिएको छ । शुल्क तथा कमिशन आय घटेको कम्पनीको समीक्षा अवधिमा खुद ब्याज आम्दानी भने ३४ लाख २४ हजारबाट बढेर ४ करोड ९९ लाख पुगेको छ । शुल्क तथा कमिशन २४ करोड ६२ लाखबाट घटेर १७ करोड ३९ लाखमा सीमित बनेको छ । अर्जा असुली प्रभावित हुँदा ४ करोड ८० लाख नोक्सानी व्यवस्था गरेको कम्पनीले गत आवमा अन्य सञ्चालन आम्दानी गरेको छैन । अघिल्लो आवमा २ करोड ८२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो ।

वित्तीय क्षेत्रमा तरलता तथा लगानी योग्य रकमको अभावको असरले पनि दुइ पाङ्ग्रेको ब्यापारमा असर गरेको छ । गोल्छा समूहको संलग्नता रहेका कारण कम्पनीलाई बैंक कर्जा प्राप्त गर्न र वित्तीय पृष्ठभूमि राम्रो बनाउन सहयोग मिलेको छ ।

गत आवसम्म कम्पनीले ग्लोबल आइएमई बैंकबाट २१ करोड ६८ लाख, एभरेष्ट बैंकबाट ५९ करोड ६९ लाख र सानिमा बैंकबाट ५७ करोड ३७ लाख गरी कुल १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कर्जा लिएको छ ।

चुक्ता पुँजी ८० करोड रहेको हुलास फिन सर्भ कम्पनीले बजाज ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे मोटर साइकल तथा स्कूटर र केटिएम डुक बाइकको फाइनान्सिङ गर्दै आएको छ । नेपालभर बजाज कम्पनीका १५० बढी डिलर सञ्चालनमा रहेका छन् । सबै डिलरका लागि मोटरसाइकल बिक्री गर्दा फाइनान्सिङ्ग गर्नु परेको खण्डमा हुलास फिन सर्भ मार्फत नै हुन्छ । कम्पनीको रिटेर्न अर्निङ्गमा २४ करोड ९६ लाख र अन्य जगेडा कोषमा १४ करोड १२ लाख गरी सञ्चित कोषमा कुल ३९ करोड ८ लाख रुपैयाँ सञ्चित छ । जु अघिल्लो आवको तुलनामा ३० करोड ६६ लाख कम हो ।

संस्थाको कर्जा असुली प्रभावित बनेसँगै निष्कृय कर्जा अनुपात बढेर ७.१६% पुगेको छ । समीक्षा अवधिमा कम्पनीको एसेट १ अर्ब १० करोड ५७ लाखले घटेर २ अर्ब ७५ करोड ५ लाख रुपैयाँ बरावरको छ । संस्थाको कर्जा तथा खुद सम्पत्तिको अनुपात १.१७ गुणा रहेको छ । आव २०७९–८० मा संस्थाको नेटवर्थ १ अर्ब १९ करोड ८ लाख रहेको छ ।

नेपालमा १०० वर्ष लामो व्यवसायिक इतिहास रहेको गोल्छा ग्रुपको हुलास फीन सर्भमा ८५ प्रतिशत सेयर रहेको छ । यसैगरी बाँकी १५ प्रतिशत हिस्सा हुलास अटोक्याफ्ट र हिम इलेक्ट्रोनिक्स प्रालिको रहेको छ । हुलास फिन सर्भका प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन् । कम्पनीमा १७६ जनाले रोजगारी पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।