माइक्रोफाइनान्सको औसत लगानीमा प्रतिफल ३% मात्रै, २० संस्थाको नकारात्मक

0
Shares

चालु आर्थिक वर्षको पुससम्ममा लघुवित्तहरुको औसत लगानीमा प्रतिफल करिब ३ प्रतिशत मात्र रहेको छ । माइक्रोफाइनान्सले तिर्ने भन्दा लिने ब्याजदर सस्तो भएकाले औसत लगानीमा प्रतिफलमा कम भएको हो ।

त्यसो त गत आर्थिक वर्षको तुलनामा माइक्रो फाइनान्स कम्पनीहरुको औसत लगानीमा प्रतिफल एक प्रतिशत भन्दा तल रहेको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माइक्रो फाइनान्सहरुको लगानीमा प्रतिफल बढेर २.८३ प्रतिशत पुगेको हो । गत असारमा माइक्रो फाइनान्सहरुको औसत लगानीमा प्रतिफल ०.८१ थियो । त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रो फाइनान्सको औसत लगानीमा प्रतिफल १.७९ प्रतिशत नकारात्मक रहेको केन्द्रीय बैंकले जनाएको छ ।

कोरोना महामारी तथा आर्थिक मन्दीको असरले माइक्रो फाइनान्सको व्यवसायमा असर पुग्यो । बैंक तथा वित्तीय संस्थामा तरलता तथा कर्जा लगानीयोग्य रकमको अभाव हुन थाल्यो । बैंक वित्तीय संस्थाको अधिक कर्जा लगानले बढाएको आयात र मूल्य वृद्धि नियन्त्रणका लागि केन्द्रयि बैंकले ब्याजदर बढाउने नीति लियो । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउने प्रतिस्पर्धा गरे । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउने प्रतिस्पर्धाले माइक्रो फाइनान्सलाई झनै असर गर्यो । माइक्रो फाइनान्सले बैंक तथा वित्तीय संस्था तथा केन्द्रीय बैंकबाट स्रोत जुटाइ लगानी गर्छन ।

केन्द्रीय बैंकले माइक्रो फाइनान्सलाई अधिकतम १५ प्रतिशत भन्दा धेरै लिन नपाउने व्यवस्था गरेको छ । सो अनुसार केन्द्रीय बैंकले तोकेको सीमा भन्दा धेरै ब्याज लिन नपाउने अवस्थामा समेत माइक्रो फाइनान्सले सो भन्दा धेरै लागतमा कर्जा लिएर लगानी गरेको अवस्था छ । त्यसले माइक्रो फाइनान्सको आम्दानीमा असर ग्रयो । संस्थाको आम्दानी प्रभावित हुने वित्तीकै लगानीमा प्रतिफल पनि घट्न पुगेको हो ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले नै निक्षेपको ब्याजदर १५ प्रतिशत भन्दा माथि पु्रयाएका थिए । बैंकहरुको स्रोत बढेको लागतले आधार ब्याजदर समेत बढायो । बैंकहरुको नै आधार ब्याजदर दोहोरो अंकमा पुगेको अवस्था थियो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्छ । त्यसले गर्दा पनि माइक्रो फाइनान्सको स्रोतको लागत बढेको हुनाले लगानीमा प्रतिफल प्रभावित भएको हो । त्यसैगरी सेवा शुल्कका समेत केन्द्रीय बैंकले नियन्त्रण गरेकाले पनि आम्दानी प्रभावित भएको एक माइक्रो फाइनान्सका उच्च अधिकारीले बताए ।

चालु आर्थिक वर्षको पुससम्ममा माइक्रो फाइनान्सको औसत लगानीमा प्रतिफल सकारात्मक भएपनि २० वटाको नकारात्मक रहेको छ । सो अवधिमा माइक्रो फाइनान्सको औसत आधार दर १४.७९ प्रतिशत रहेको छ भने कर्जामा लिन पाउने ब्याज अधिकतम १५ प्रतिशत हो ।

चालु आर्थिक वर्षको पुससम्ममा सबैभन्दा धेरै लगानीमा प्रतिफल रहेको संस्थामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था छ । चालु आवको दोस्रो त्रैमाससम्ममा संस्थाको लगानीमा प्रतिफल १२.६६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सृजनसील लघुवित्त वित्तीय संस्थाको लगानीमा प्रतिफल सबैभन्दा धेरै नकारात्मक छ । सो अवधिमा संस्थाको लगानीमा प्रतिफल २५३.१७ प्रतिशतले नकारात्मक रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा एकल अंकमा आधार ब्याजदर हुनेमा विपिडब्लु लघुवित्त र सुपर लघुवित्त संस्था रहेका छन्। सुपर लघुवित्त संस्थाको व्यवस्थापन केन्द्रीय बैंकले लिएको छ । सो अवधिमा सुपरको आधार ब्याजदर ९.०२ र विपिडब्लुको ९.३१ प्रतिशत रहेको छ । तर, सो अवधिमा सबैभन्दा धेरै मनकामना लघुवित्त वित्तीय संस्थाको आधार दर रहेको छ । संस्थाको आधार दर २०.३९ प्रतिशत रहेको छ । दोस्रो धेरै आधार दर हुने संस्थाहरुमा विजय लघुवित्त, एनएमबी लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन्। तीन वटै संस्थाको आधार ब्याजदर १९ प्रतिशत भन्दा माथि रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।