नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

0
Shares

सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

सीईओका नियुक्तका लागि फागुन ७ गते सोमबार २१ दिने सार्वजनिक सूचना जारी गरिएको हो । खुला प्रतियोगिताबाट चयन हुने प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको रहनेछ । इच्छुक उम्मेदवारले नेपाल पुनर्बीमा कम्पनीमा ५ हजार दस्तुर बुझाएर आवेदन पठाउन सक्नेछन् । काठमाडौंको थापाथलीस्थित कम्पनीको कार्यालयमा दरखास्त पेस गर्न सकिनेछ ।

कम्पनीले राजनीतिक दलको सदस्य नरहेको व्यक्तिबाट आवेदन माग गरेको छ । आवेदन दिने अन्तिमसम्म आवेदनकर्ता ६५ वर्ष नपुगेको हुनुपर्नेछ । आवेदन साथ शैक्षिक योग्यता, सम्पर्क ठेगाना (ई–मेल, टेलिफोन, मोबाइल नम्बर घर वा कार्यालयको ठेगाना) खुलेको विस्तृत वैयक्तिक विवरण, उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपिको साथमा पाँच हजार शब्दमा नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको प्रति समेत संलग्न गर्नुपर्ने छ ।

यस्ता छन् आवश्यक योग्यता

नेपाल पुनर्बिमा कम्पनीमा प्रमुख कार्यकारीमा आवेदन दिने व्यक्ति बीमा ऐन २०७९ दफा ५७ को उपदफा (४) खण्ड (क) बमोजिम योग्यता प्राप्त गरेको व्यक्ति हुनुपर्ने छ । उक्त दफामा प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको भए पाँच वर्ष अनुभव हासिल गरेको हुनुपर्ने छ । यस्तै बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभव सहित कम्तिमा ७ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ ।

यस्तै चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, मौद्रिक , बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा दश वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए पन्ध्र वर्ष वा दुबै क्षेत्रमा भए बीमा क्षेत्रमा कम्तिमा एक वर्षको अनुभव सहित कम्तिमा बाह्र वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

सोही दफाको उपदफा (५) मा शारीरिक तथा मानसिक अस्वस्थताको कारणले सञ्चालक भई सेवा गर्न असमर्थ भएको, कालोसूचीमा परेको वा सो सुचीबाट फुकुवा भएको तीन वर्ष नपुगेको, बीमकको सञ्चालक, सञ्चालकको नजिकको नातेदार वा कर्मचारी, बीमा मध्यस्थकर्ता वा परामर्शदाताको रुपमा कार्यरत रहेको र विगत ३ वर्षको अवधिको सोही बीमकको लेखापरिक्षक भई कार्य गरेको व्यक्ति सीईओ हुन पाउने छैन । यस्तै धितोपत्र व्यवसायीको रुपमा कार्य गर्ने, बीमकसँग वित्तीय स्वार्थ भएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, फौजदारी कसुरमा अदालतबाट सजाय पाएको र सार्वजनिक पदमा बहाल रहेको व्यक्ति पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन नपाइने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।