क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी


क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो। यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको छ।  पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले। ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए। ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए।

यस्तै बसिर ५२ रनमा नट आउट रहे। ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो।

क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए। नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए। साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।