सात दिन भित्र ललितानिवास क्षेत्रबाट हट्न काठमाडौं महानगरपालिकाको निर्देशन


काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न निर्देशन दिएको हो ।

विशेष अदालतले फागुन ३ गते उक्त सरकारी सम्पत्ती जफत गरिएको फैसला गरेको थियो । महानगरपालिकाले जफत गरिएको जग्गा सरकारी भएको भन्दै सात दिन भित्र उक्त क्षेत्रबाट हट्न निर्देशन दिएको हो ।

सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य महानगरपालिकाको भएको भन्दै महानगरले सरकारी सम्पत्तीको प्रबर्धन गर्ने कार्यमा सहयोग गर्न आगह गरेको छ ।  यस्तै महानगरले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने समेत जनाएको छ ।

महानगरद्पारा जारी सूचनामा भनिएको छ, “यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,” ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।