खजुरीको नेपालको वार्षिक आम्दानी पौने २ अर्ब


नेपालमा बिस्कुट तथा कुकिज उत्पादन गर्दै आएको खजुरीको नेपाल प्रालिले आर्थिक वर्ष २०२३ मा १ अर्ब ७३ करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०२२ मा १ अर्ब ६४ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ५.६० प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा समेत बढेको हो । आव २०२२ मा कुल सञ्चालन आम्दानीको १० प्रतिशत रहेको सो नाफा आव २०२३ मा १४ प्रतिशत पुगेको हो ।

सन् २००४ मा स्थापना भएको कम्पनीले बिस्कुट, कुकिज र पफ उत्पादन गरिरहेको छ । कम्पनीको उत्पादन प्लान्ट ललितपुर, चितवन र मकवानपुरमा अवस्थित छ । उत्पादित सामाग्रीहरुलाई कम्पनीले खजुरिको ब्रान्डनामबाट बिक्री वितरण गरिरहेको छ ।

कम्पनीमा महर्जन परिवारको लगानी रहेको छ भने एकै परिवारका ६ सदस्यहरुको लगानी समेत रहेको छ । ओमनाथ महर्जनको नेतृत्वमा कम्पनी सञ्चालनमा आइरहेको छ ।

कम्पनीले १ अर्ब १० करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ८७ करोड ४७ लाख बराबरको कर्जाका लागि डबल बी माइन्स र २२ करोड ५३ लाख बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरणका आधारमा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.०९ गुणा रहेको छ ।

पछिल्लो समयमा बिस्कुट तथा कुकिज उत्पादक कम्पनीहरुको सङ्ख्यामा भएको वृद्धिसँगै प्रतिस्पर्धा बढेको छ । नयाँ कम्पनीहरुहरुसँगको प्रतिस्पर्धा कम्पनीको चुनौती हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।