नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश


नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिहीबार ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८\०७९ को मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमा कोषमा ७१ अर्बको हाराहरीमा रकम जम्मा भएको छ ।

आर्थिक वर्ष २०७८\०७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत छन् ।

कम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी १०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल ३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ । यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।