सूचीकृत आधा बढी कम्पनी मार्जिन कारोबारका लागि अयोग्य, योग्य सूचीमा ११२ मात्रै अटाए

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५९ प्रतिशत कम्पनी मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् । नेप्सेमा सूचीकृत रहेका २७१ कम्पनीमध्ये ११२ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएका हुन् ।

नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

नेप्सेमा हाल २३ दर्जन कम्पनीमध्ये ९ दर्जन बढी कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका हुन् । म्युचुअल फन्ड र डिबेञ्चर बाहेक २०७९ पुस मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुके संख्या २७१ ओटा रहेको छ ।

नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबार योग्य कम्पनीहरुको सूचीमा १९ वटै सूचीकृत वाणिज्य बैंक समेटिएका छन् । नेप्सेद्वारा सार्वजनिक गरिएको सूचीमा जलविद्युत समूहका १६ ओटा, लगानी समूहका ४ ओटा कम्पनी, उत्पादन समूहका ३ वटा कम्पनी र २ ओटा अन्य समूहका कम्पनी परेका छन् । यस्तै ८ ओटा विकास बैंक, ५ ओटा फाइनान्स, ४० ओटा लघुवित्त, ७ जीवन र ९ निर्जीवन गरी १६ ओटा बीमा कम्पनी कुल ११२ कम्पनी मार्जिन कारोबारयोग्य योग्य रहेको जनाएको छ ।

सूची हेर्नका लागि तलको लिङ्कमा जानुहोस्

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ । सोहीअनुसार नेप्सेले सूची सार्वजनिक गरेको हो । नेप्सेले हरेक वर्ष मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीहरू छनोट गर्छ, तर मार्जिन सुविधा कार्यान्वयनमा आउन सकेको छैन । विशेष गरी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ब्रोकरबीचको समन्वय नहुँदा कार्यान्वयनमा आउन नसकेको हो ।

‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार लाभांश वितरण, कम्पनीको नाफा लगायत अन्य वित्तीय विवरण बलिया भएका कम्पनीहरू मात्रै योग्य हुने गर्दछन् । कार्यविधिअनुसार सेयरधनीले यस्तो सुविधा प्रयोग गर्न कम्पनीको १० हजारभन्दा बढी सेयरधनी हुनुपर्ने, चुक्ता पुँजीभन्दा बढी नेटवर्थ भएको हुनुपर्ने र विगत दुई वर्षयता सेयरधनीलाई १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको हुनुपर्ने हुन्छ । त्यस्तै, दोस्रो बजारमा कम्तीमा ८० प्रतिशत दिन सेयर कारोबार भएको हुनुपर्ने, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको हुनुपर्ने उल्लेख छ ।

मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजी बजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो ।  मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुको सेयर धितो राखेर लगानीकर्ताले सेयर धितो कर्जा लिन सक्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।