एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

कम्पनीको सेयरमा संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आज फागुन १६ गतेदेखि फागुन ७ गतेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन दिनु पर्ने छ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर २०८ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर आवेदन फाराममा उल्लेख गर्नु पर्नेछ ।

आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश गरिनेछैन ।

एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ । साथै बोलपत्र फाराम लाहाछाप लगाई शिलबन्दी गरिएको हुनुपर्नेछ ।

बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, मोबाईल नम्बर, आफ्नो खाता रहेको बैंकको नाम र खाता नं. तथा आफ्नो हितग्राही खाता नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।