अधिक तरलता भएपछि बैंकहरुले ३ प्रतिशत ब्याजमा केन्द्रीय बैंकमा राखे पौने तीन खर्ब

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेका बैंकहरुले स्थायी निक्षेप सुविधाको प्रयोग बढाएका छन ।

बैंक तथा वित्तीय संस्थाले फागुन १६ गते बुधबार मात्रै ३४ अर्ब ५ करोड रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि उक्त रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा सिधै निक्षेप राखेका हुन ।

केन्द्रीय बैंकले फागुन १ गतेदेखि व्याजदरलाइ स्थिर राख्ने तथा तरलता व्यवस्थापन गर्ने नयाँ उपकरणको रुपमा स्थायी निक्षेप सुविधा सुरु गरेको हो । यो सुविधा सुरु भएयता बैंकहरुले २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका हुन । फागुन यता बैंकहरूले यसरी पाँच पटकसम्म रकम राखेका हुन्।

बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको हो। बैंकहरूको कर्जाको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा लगानी बढ्न सकेको छैन।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो औसत अन्तर बैंकदर २.८४ प्रतिशत रहेको छ । त्यसैगरी फागुन १५ गते मंगलबारसम्म बैंकिङ प्रणालीमा एक खर्ब ९ अर्ब ३२ करोड ३४ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बैंकहरूमा ६१ खर्ब ५६ अर्ब रूपैयाँ निक्षेप रहेको छ भने कुल ५० खर्ब ८४ अर्ब कर्जा प्रवाह गरेका छन ।

नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई स्थिर राख्न तथा तरलता व्यवस्थापनको नयाँ उपकरण ’स्थायी निक्षेप सुविधा’ प्रयोगमा ल्याएको हो । केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली २०७८ र खुला बजार कारोबार सम्बन्धी कार्यविधि २०७८ को संशोधन गरेर फागुन १ गते मंगलबार देखि सुरु गरेको हो ।

केन्द्रीय बैंकले अधिक तरलताका कारण अन्तर बैंकदरमा अस्वभाविक उतारचढाव नआओस भनेर स्थायी निक्षेप सुविधाको सुरुवात गरेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई स्थिायित्व दिनका लगि ब्याजदर करिडोरको कार्यन्वयन गर्दै आएको छ । सो अनुसार करिडोरको तल्लो सीमा स्थयी निक्षेप सुविधाको दर ३ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले अन्तर बैंक दरलाई स्थायी निक्षेप सुविधा भन्दा माथि राख्नका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको हो ।

केन्द्रीय बैंकले सुरु गरेको नयाँ उपकरणको अवधि ४ दिनको छ भने सातामा दुई दिन आइतबार र बुधबार मात्र यस्तो सुविधा उपलब्ध हुनेछ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा निक्षेप राख्दा ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशतका दरले ब्याजदर पाउनेछन् ।

कार्यविधि अनुसार अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको, र काउण्टरपार्टीले सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको हुनु पर्नेछ । यो व्यवस्थाले ब्याजदरमा आउने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा केन्द्रीय बैंकको रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।