बैंकरलाई आन्दोलन नगर्न सुझाब, सीआइबीको कदमले ‘प्रोजेक्ट फाइनान्सीङ’ लाई असर गर्ने

0
Shares

केन्द्रीय अनुसन्धान विभागले धितो मूल्याङकन भन्दा धेरै कर्जा दिएको भन्दै मंगलबार दर्जन बढी बैंकर पक्रिएपछि बैंकिङ क्षेत्र नै तरङगीत भएको छ । धितो मूल्याङकन र कर्जा लगानीलाई अपराध मानेर बैंकर पक्राउ गर्दा बैंकिङ क्षेत्र नै अस्तव्यस्त हुन सक्ने जोखिमले हलचल पैदा भएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तुलसी गौतम, प्रभु बैंकका डेपुटि प्रमूख कार्यकारी अधिकृत मानेज न्यौपाने सहित १० जनालाई अनुसन्धानका लागि भन्दै पक्राउ गर्यो । सीआइवीले उनीहरुले धितोको मूल्याङकन भन्दा धेरै कर्जा लगानी गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरेको हो । पक्राउ पर्ने प्रभु बैंकका बहालवाला कर्मचारी सहित पुर्व कर्मचारीहरु पनि छन ।

सीआइबीका अनुसार उनीहरुले एक अर्ब १४ करोड २३ लाख ८४ हजार रुपैयाँ बरावरको मूल्याङकन रहेको धितोमा २ अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको आरोप छ । यो कर्जा लिनेमा लालिगुराँस सहकारीका सञ्चालकहरुका कम्पनी पुजा ट्रेडिङ एण्ड मार्कैटिङ, थ्री ब्रदर्स मार्कैटिङ, पुजा मार्केटिङ र अन्नपुर्ण डिष्टिलरी रहेको सीआइबीले जनाएको छ ।

सीआइबीले बैंकरलाई अनुसन्धान गर्ने भन्दै पक्राउ गरेर हिरासतमा लिएसंगै सम्पूर्ण बैंकरहरुमा त्रास फैलिएको छ। बैंकरहरुले सीआइबीको गतिविधिलाइ पनि खुलेरै विरोध गरेका छन् । बैंकरहरुले व्यक्तिगत रुपमा मात्र नभै संस्थागत रुपमा समेत विरोधको तयारी गरेको छ ।

बैंकरहरुको छाता संगठन बैंकर्स एशोसीएसनले बुधबार बिहानै आकस्मीक बैठक बोलाई आन्दोलन गर्ने सम्मको निर्णय गरेको छ । त्यससंगै सीआइवी, केन्द्रीय बैंक र गृह मन्त्रालयमा बैंकहरुको दौडधुप चलेको छ । बैंकरहरुले पहिलो चरणमा केन्द्रीय बैंकका उच्च अधिकारीसंग छलफल गरेका छन् । केन्द्रीय बैंकसंगको छलफलमा समय आएपछि केन्द्रीय बैंकले पनि यसलाइ स्पष्ट पार्ने बताएको सहभागी एक बैंकरले बताए ।

सीआइबीले केन्द्रीय बैंकसंग पनि सहकार्य नगरी बैंकरहरुलाई पक्राउ गर्न थाल्नु समग्र बैंकिङ क्षेत्रका लागि सकारात्मक नभएको केन्द्र्रीय बैंकका एक अधिकारीले बताए । सीआइबीले आफ्नो काम गरेको भएपनि बैंकिङ क्षेत्रलाई नै असर गर्ने कामको सन्दर्भमा केन्द्रीय बैंकसंग पनि सहकार्य गर्न उपयुक्त हुने ति अधिकारीको भनाइ छ ।

“बैंकरलाई हिरासतमा लिएपछि सीआइबीले केन्द्रीय बैंकलाई हालसम्म कुनै पनि जानकारी गराएको वा सुझाव मागेको अवस्था छैन,” केन्द्रीय बैंकका ती अधिकारीले भने,“सहकारीबाट सुरु भएको समस्या बैंकमा आइपुगेको हो, त्यसको थप अनुसन्धानका लागि लगेको बुझिन्छ ।” अनुसन्धानका क्रममा आवश्यक देखिए सीआइबीले केन्द्रीय बैंकसंग पनि सुझाव लिन सक्ने बताउँदै ती अधिकारीले थपे,“सीआइबीले केन्द्रीय बैंकका अधिकारीलाई पनि समावेस गराउनु पर्ने थियो, यस सन्दर्भमा समय आएपछि केन्द्रीय बैंकले बोल्छ ।”

बैंकरहरुसंगको छलफलमा कर्मचारी साथीहरुको मनोबल उच्च राखेर काम गर्न केन्द्रीय बैंकका अधिकारीले सुझाएका छन् । सीआइबीलाई दोष लगाउनु पर्ने अवस्था नभएको भन्दै सहकारीबाट सृजीत समस्याको अनुसन्धानको दायरा विस्तार भएको जस्तो बुझिन्छ । त्यसैले तत्कालका लागि संयम भएर अघि बढ्न केन्द्रीय बैंकले सुझाएको छ । साथै बैंक नेतृत्वले कर्मचारीलाई सर्पोट गरेर काममा फर्काउन समेत केन्द्रीय बैंकले सुझाएको छ ।

बैंकरहरुले धितोको अधिक मूल्याङ्कन गरे भनी पक्राउ गर्दा धितो विनै कर्जा लगानी गरेको अवस्थामा त झनै गम्भीर अपराधको ठहर्ने भएकाले काम गर्ने अवस्था नै नरहेको एक बैंकरको भनाइ छ । “पछिल्लो समयमा धितोमा आधारीत भन्दा पनि प्रोजेक्ट फाइनान्सीङको कुरा आएको छ,” ती बैंकरले भने,“प्रोजेक्ट फाइनान्सीको काम त गर्ने अवस्था नै नहुने भयो ।” बैंकहरुको कर्जा लगानी भनेको आफैमा जोखिम युक्त काम हो । बैंकहरुले धितो र धितो रहित दुबै खालका कर्जा लगानी गर्नुपर्ने हुन्छ । त्यसैले सीआइबीको पछिल्लो गतिविधिले बैंकहरुले काम गर्ने अवस्था नभएको ती बैंकरको भनाई छ । बैकिङ क्षेत्रले काम गर्ने बातावरण बनाउनका लागि र बैंक कारोबार सम्बन्धी बुझाउन सीआइबी र गृह मन्त्रालयसंग छलफल गरेको हो । त्यसैगरी सीआइबीको गतीविधिलाई कसरी प्रतिवाद गर्ने भनेर केन्द्रीय बैंकसंग छलफल गरेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।