बैंकिङ्ग क्षेत्रमा भईरहेको धरपकडले समग्र क्षेत्र नै आतंकित : बैंकर

0
Shares

बैंक तथा वित्तीय संस्थाका बाहालवाला तथा पूर्व कर्मचारी पक्राउ पर्ने क्रम वढेसंगै बैंकरहरु एक भएका छन् । बाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनी र लघुवित्त बैंकसं संघले संयुक्र रुपमा पक्राउको विरोध गरेका हुन ।

उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पहिला थुन्ने र अनि सुन्ने गरेको अरोप लगाएका हुन । बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउबारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको उनीहरुको भनाई छ । यस्ता गतिविधिले यस क्षेत्रका कर्मचारीहरुको मनोवल समेत खस्कन गएको हुंदा राज्यका सम्बन्धित निकायहरु यस बिषयमा गम्भिर भईदिन समेत बैंकहरुले आग्रह गरेका छन् ।

पारदर्शी रुपमा नियामक निकायलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग बैंकहरुले माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरु तथा अन्य प्रचलित ऐन, नियमको पुर्ण पालना गर्दै पारदर्शी रुपमा बैंकिङ्ग कारोवार गर्दै आएको उनीहरुको दावी छ।

बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकारक्षेत्र भित्र रहि निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको उनीहरुको दावी छ । साथै उनीहरुले कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही हुनु पर्नेमा सहमती जनाएका छन । गलत मनसायले काम गर्नेलाइ कारबाही गर्ने सन्दर्भमा कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैं तत्पर रहेको समेत उनीहरुले जनाएका छन ।

बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्नन भएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाईन नहुने उनीहरुको धारण छ ।

‘बैंकिङ्ग कसूरसंग सम्बन्धित अनुसन्धान प्रक्रिया“पहिला सुन अनि थुन”हुनु पर्नेमा “पहिले थुन अनि सुनको”प्रक्रियाले बढावा पाएको उनीहरुको बुझाइ छ । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पु¥याए उनीहरुको भनाई छ । यस्ता गतिविधिले काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने उनीहरुको दावी छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चल/अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु कर्जा प्रवाह गर्छन । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम कारवाहीलाई नै आधारमानी हुने घडपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउनसक्ने भएकाले सबै पक्ष गम्भीर हुन समेत उनीहरुले आग्रह गरेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।