उजुरी छानवीन गर्न अर्थ समितिमा उप समिति, बजेटका सिद्धान्त र प्राथमिकतामा विज्ञसंग छलफल गर्ने

0
Shares

संघिय संसदको प्रतिनिधि सभा अन्तर्गको अर्थ समितिले उजुरी अध्ययन तथा छानवीनका लागि उप समिति गठन गरेको छ । समितिले समितिमा आउने उजुरीको प्रभावकारी अध्ययन अनुसन्धान गरी निर्णयमा पुग्न सहज हुने गरी उप समिति गठन गरेको हो ।

समितिले गठन गरेको उक्त उप समितिको संयोजकमा समितिकै सभापति सन्तोष चालिसे रहेका छन । त्यसैगरी उक्त उपसमितिको सदस्यहरुमा सांसदद्धय रण कुमारी बलम्पाकी मगर र रामनाथ अधिकारी रहेका छन ।

त्यसैगरी समितिले सरकारले गत सोमबार ल्याएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा पनि विज्ञहरुसंग छलफल गर्ने निर्णय गरेको छ । विज्ञसंगको छलफलबाट अर्थ मन्त्रालयलाई सुझाव सहितको निर्देशन दिने निर्णय पनि समितिले गरेको छ ।

समितिले चालु आर्थिक बजेटको अर्धवर्षिक समिक्षा तीन दिन भित्र बुझाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । सकरकारले खर्च बढ्न नसकेको र लक्ष्य अनुसार राजस्व संकलन नभएको भन्दै बजेटको आकार घटाएपछि समितिले समिक्षा माग गरेको हो ।

सरकारले गत वर्ष जेठ १५ गते चालु आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । उक्त बजेटलाई अर्धवार्षिक समीक्षामार्फत मन्त्री महतले १२.६२ प्रतिशत (२ खर्ब २१ अर्ब ५ करोड रुपैयाँ) ले घटाई १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा खुम्च्याएका हुन् ।

बजेटको आकार घटाउदै गर्द अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक गतिविधि बढ्न नसक्दा सरकारी खर्च पनि अपेक्षा अनुसार नहुने देखिएको बताएका थिए । साथै उनले राजस्व संकलन पनि लक्ष्य अनुसार नहुने भएपछि बजेटको आकार घटाएको प्रष्टिकरण दिएका थिए ।

मन्त्री महतले बजेटको आकार घटाएसंगै अर्थ समितिले चासो देखाएको हो । समितिले बजेट घटाउनुको विषयमा प्रष्ट हुनका लागि उक्त अर्ध वर्षिक समिक्षा माग गरेको हो ।

त्यसैगरी समितिले आफ्ना कार्ययोजना तर्जुमा गर्न उपसमिति समेत गठन गरेको छ । समितिले सासंद दिपक खड्काको संयोजकत्वमा उप समिति गठन गरेको हो । उक्त उपसमितिका सदस्यहरुमा सासंदहरु मेटमणी चौधरी, सुर्य बहादुर थापा, नारायणी शर्मा, विराजभक्त श्रेष्ठ, ज्ञान बहादुर शाही रहेका छन् । उक्त उपसमितिलाइ समितिले ५ दिनको समय दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।