मूल्यवृद्धि घट्ने क्रममा र शेयर बजार उकालो लाग्दै छ : अर्थमन्त्री


अर्थमन्त्री डा प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन् ।

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोनाको सङ्क्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको बताए ।

“नेपालमा अब विकासले क्रमशः गति लिएको छ । हामी उद्यमी–व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ”, अर्थमन्त्री महतले भने, “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । शेयर बजार उकालो लाग्दैछ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।”

देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारका अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जनातर्फ केन्द्रित रहेका अर्थमन्त्रीले बताए । “आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पु¥याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।”

बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीका अवसरमा अर्थमन्त्रीले विद्यालयका लागि आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासको प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।