कृषिमा परनिर्भरता कायमैः सात महिनामा साढे २३ अर्बको खाद्यान्न आयात

0
Shares

कृषिप्रधान देश भनेर चिनिने नेपालले धान, मकै, कोदो, गहुँ, जौ लगायतका खाद्यान्न आयातमा अर्बो रकम खर्चिने गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै नेपालले चीन, भारत लगायतका देशहरुबाट २३ अर्ब ५४ करोड २२ लाख ५० हजार रुपैयाँको खाद्यान्न आयात गरेको छ ।

उत्पादन लागत अनुसार मूल्य नपाउँदा किसानहरुले उत्पादन गर्न छाडेका कारण कृषि प्रधान देश पनि अन्य देशसँग निर्भर हुनुपर्ने अवस्था आएको हो ।

नेपालमा सबैभन्दा धेरै मकै आयात गर्ने गरिएको छ । चालु आर्थिक वर्ष (२०८०/८१) को साउनदेखि माघसम्म ७ अर्ब ६२ करोड ९३ लाख ६१ हजार रुपैयाँ बराबरको १८ करोड ६५ लाख १ हजार ७२ केजी मकै आयात भएको छ । सोही अवधिमा ५६ करोड ८६ लाख ८७ हजार रुपैयाँ बराबरको १५ लाख ६३ हजार ३ केजी मकैको बिउ आयात गरिएको छ । मकै आयातबाट ४४ करोड २२ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । नेपालमा अर्जेन्टिना, भारत, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गर्ने गरिएको छ ।

यस्तै चालु आर्थिक वर्ष सात महिनामा मकै पछि सबैभन्दा धेरै धान आयात भएको छ । ७ अर्ब ३७ करोड ६७ लाख ३ हजार रुपैयाँ बराबरको १९ करोड ६१ लाख ४४ हजार १६ केजी धान आयात भएको छ ।उता, धानको बिउ आयातमा नेपालले ४ करोड ७९ लाख ४४ हजार रुपैयाँ खर्चेको छ । नेपालले १ लाख ४४ हजार ५९५ केजी धानको बिउ आयातमा उक्त रकम खर्चेको हो । धान आयातबाट सरकारले ३७ करोड ७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैगरी नेपालले आयात गर्ने मुख्य खाद्यबालिको तेस्रो स्थानमा चामल रहेको छ । सात महिनाको अवधिमा नेपालले ५ अर्ब ६८ करोड ४० लाख २६ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ४९ हजार ३४० केजी चामल आयात गरेको छ । चामल आयातबाट सरकारले ६४ करोड ८९ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा भारत, इटली, थाइल्याण्ड लगायतका देशहरुबाट चामल आयात हुने गरेको छ ।

यसैगरी, नेपालमा आयात हुने खाद्यबालीको चौथौ स्थानमा गहुँ रहेको छ । चालु आर्थिक वर्षमा २ अर्ब ३३ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको ५ करोड ६१ लाख ३३ हजार ३४० केजी गहुँ आयात भएको छ । यता, ३ लाख ५५ हजार रुपैयाँ बराबरको ३४३ केजी गहुँको बिउ आयात भएको विभागको तथ्यांकले देखाएको छ । गहुँ आयातबाट सरकारले ११ करोड ९० लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, जापान, इन्डोनेसिया, भियतनामलगायतका देशबाट गहुँ आयात हुने गरेको छ ।

यस्तै, आयातको पाँचौ स्थानमा कोदो रहेको छ । नेपालमा ५२ करोड ७५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १७ हजार २३६ केजी कोदो आयात भएको हो । यस्तै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १ लाख ७८ रुपैयाँ बराबरको ४ हजार २८२ केजी कोदोको बिउ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सात महिनामा कोदो आयातबाट सरकारलाई ४० हजार ६६ रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा कोदो भारतबाट आयात हुने गरेको छ भने कादोको बिउ भारत र चीनबाट आयात हुँदै आएको छ ।

यस्तै १ करोड ५७ लाख ५६ हजार रुपैयाँ बराबरको ३ लाख ९७ हजार २१४ केजी जौ आयात भएको छ । जसबापत ८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा भारतबाट जौ आयात हुने गरेको विभागले जनाएको छ ।

के भन्छन् अर्थविज्ञ ?

नेपालमा नै उत्पादन गर्न सकिने अन्य खाद्य बालि पनि भारत, चीन, लगायतका देशबाट नै आयात हुने गरेको छ । कृषि क्षेत्रलाई स्थानिय तथा संघीय सरकारले प्रोत्साहन गर्न नसक्दा यस्ता खाद्यवालिको आयातमा वृद्धि भएको कृषि अर्थविज्ञ रामहरी पाण्डे बताउँछन् ।

नेपाल सरकारले कृषि गर्नेलाई उचित अनुदान नदिनाले कृषक कृषि पेशाबाट नै पलायन हुँदै गएको कृषि अर्थविज्ञ पाण्डे बताउँछन् । सरकारले कृषि उत्पादनलाई बढावा दिने किसीमका योजना ल्याउन सके आयात केही हदसम्म कम गर्न सकिने उनको भनाइ छ ।

खाद्यान्न लगाउने जनसंख्या घट्दो क्रममा रहेको कृषि विज्ञ पाण्डेले बताए । उनले भने, “नेपालमा विषेशगरी भारतबाट चामल आयात गर्ने गरेको छ, उपभोक्ताको रोजाइमा नै लन्ग्रेन, बासमती लगायतका चामल पर्छन्, नेपालमा उत्पादित चामलले त बजार नै पाउँदैन अनि कस्ले धान फलाउँछ र ?” बाहिरबाट आउने सबै किसीमका खाद्यान्नलाई निरुत्साहित गर्न सकिए नेपालमा उत्पादन हुने उनको भनाइ छ।

यस्तै, नेपालबाट काम गर्न सक्ने दक्ष जनशक्ति पलायन हुँदा आयात बढिरहेको कृषि विभागका सूचना अधिकारी तथा कृषि विज्ञ तिलकराज चौलागाई बताउँछन् । अधिकांश जमिन बाझो हुनु, खेतीयोग्य जमिनमा बस्ती बस्नु नै अहिलेको मुख्य कारण रहेको उनको भनाइ छ । किसानले पाउनु पर्ने लाभकारी मूल्य जस्ता मूलभूत समस्या हल नगरीकन कृषि क्षेत्रको विकाश हुन नसक्ने उनी बताउँछन् । खाद्यान्नमा आत्मनिर्भर हुन सरकारले नै कृषि क्षेत्रलाई प्राथमिकता राख्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ । नेपालमा प्रतिवर्ष औसतमा ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस्तै देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती गरिन्छ । नेपालमा वार्षिक २१ लाख मेट्रिक टनभन्दा उत्पादन हुने गरेको छ । यसैगरी, नेपालमा औसतमा २० लाख देखि २५ लाख मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको छ ।

नेपालले कुन खाद्यान्न कति निर्यात गर्छ ?

नेपालबाट कोदो, गहुँ लगायत रैथाने बाली निर्यात हुने गरेको छ । यता, नेपालबाट भने कोदोको बिउ मात्र निर्यात हुने गरेको छ । साउनदेखि माघसम्म १७ लाख ७९ हजार रुपैयाँ बराबरको १६ हजार ५६ केजी कोदोको बिउ निर्यात भएको छ । नेपालले अस्ट्रेलिया, हङकङ, कोरिया, अमेरिकालगायत देशहरुमा कोदो निर्यात गर्दै आएको छ ।

यस्तै नेपालबाट १ करोड ७७ लाख ८२ हजार रुपैयाँ बराबरको २ लाख ९६ हजार ११४ केजी गँहु निर्यात भएको छ । यस्तै नेपालबाट ३८ लाख ६१ हजार रुपैयाँ बराबरको १३ हजार ६०१ केजी धानको भुजा निर्यात गरेको छ भने ४ करोड १३ लाख ८० हजार रुपैयाँ बरारबको १ लाख ६८ हजार १२० केजी चिउरा निर्यात गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।