अधिक तरलताको समस्या झनै बढ्दै, एसडिएफले नथेगेपछि ५० अर्ब निक्षेप संकलन

0
Shares

बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएको छ । स्थाई निक्षेप सुविधा (एसडिएफ) मार्फत बैंकहरुले रकम जम्मा गर्दा समेत तरलता नघटेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण समेत जारी गर्ने भएको हो ।

अधिक तरलता भएसँगै बैंकहरुले एसडिएफ उपयोगलाई निरन्तरता दिँदै आएका छन् भने केन्द्रीय बैंकले अन्तर बैंकदर तीन प्रतिशत तल झरेपछि पुन: निक्षेप संकलन उपकरण जारी गरेको छ । बुधबार बैंकहरुले स्थाई निक्षेप सुविधा उपयोग गरी राष्ट्र बैंकमा ४३ अर्ब ८० करोड रुपैयाँ जम्मा गरेका छन् । बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा निक्षेप राखेका हुन् । गत आइतबार मात्रै बैंकहरुले एक खर्ब २३ अर्ब रुपैयाँ स्थायी निक्षेप राखेका थिए ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता खिचेर अन्तर बैंक दर बढाउन निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले बिहीबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले १४ दिनको लागि सो रकम वित्तीय प्रणालीबाछ तान्न लागेको हो । राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैंकदर २.९१ प्रतिशतमा झरेको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ । बैंकहरु निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको न्यून माग तथा पुँजीकोष दबाबका कारण बैंकहरुले कर्जा लगानी गर्ने अवस्था छैन । त्यसले गर्दा पनि तरलता वृद्धिलाई सहयोग पुगेको हो ।

केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीमा झण्डै ७९ अर्ब अधिक तरलता रहेको छ । पछिल्लो समयमा आर्थिक गतिविधिमा सुधार आउन नसकेपछि बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढ्न सकेको छैन । कर्जाको माग बढ्न नसकेसँगै बैंकिङ्ग प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो । अधिकत तरलता भएपछि बैंकहरुले ब्याजदर समेत घटाउन थालेका छन् ।

ब्याजदर घटाउँदा पनि निक्षेप थपिने क्रम बढेपछि बैंकहरुलाई कोषको लागत घटाउन भएपनि सानो सानो आम्दानीका क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता छ। वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै अल्पकालिन लगानी समेत बैंकहरुको उच्च प्रतिस्पर्धा हुन थालेको छ । बैंकहरुको उच्च प्रतिस्पार्धाले ट्रेजरीको डिस्काउन्ट रेट समेत घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर नै ब्याजदर करिडोरको तल्लो सीमा हो । पछिल्ला दिनहरुमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत भन्दा माथि रहेको छ । तर, अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा तल अर्थात २.९१ प्रतिशतमा झरेको छ । त्यसले गर्दा पनि केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर बढाउने तथा प्रणालीको तरलता घटाउने निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो । त्यसका साथै यसभन्दा अघि निष्काशन गरेको निक्षेप संकलन उपकरण परिपक्क भएकाले पनि वित्तीय प्रणालीको तरलता बढेको हुनाले पुनः सोही उपकरणको प्रयोग केन्द्रीय बैंकले गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।