अर्थतन्त्रमा नयाँ आशा जगाउनका लागि पहल गर्नेछु : अर्थमन्त्री पुन


नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताएका छन् । बुधबार पदबहाली गर्दै पुनले अर्थतन्त्रमा नयाँ आशा जगाउनका लागि पहल गर्ने बताएका हुन् ।

“अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले बताए । अर्थमन्त्री पुनले कार्यभार सम्हाले लगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् । त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् ।

कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६१ लाख लगानीकर्ताहरूको हित गर्ने गरी नीतिगत सुधार गर्ने बताएका छन् । पुँजी बजारका लगानीकर्ताहरुको मनोबल उच्च बनाउन आफ्नो भूमिका रहने बताउँदै उनले उनीहरुको हित रक्षा र मनोबल बढाउन नीतिगत सुधार गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । सेयर बजारको सुधारका लागि संरचनात्मक सुधार गर्ने पनि उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।