नेशनल लाईफले मनायो ३७ औं वार्षिकोत्सवः कूल एक खर्बमाथि बीमाशुल्क संकलन

0
Shares

जीवन बीमा क्षेत्रमा विश्वास र ख्याति कमाएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको र जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना गरिएको थियो। अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण पनि गरिएको हो ।

कम्पनीले स्थापनाकाल देखि २०८० साल पुसमसान्तसम्म कूल बीमाशुल्क आम्दानी १ खर्ब २ अरब ३० करोड आर्जन गरेको छ । यस्तै यसअवधिसम्म कम्पनीले कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ । कूल ३७ अरब ४९ करोड बराबर बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले विगत वर्ष सरह चालु आर्थिक वर्षमा पनि राम्रो ब्यवसायिक प्रगति गरेको जनाएको छ । कम्पनीको जीवन बीमा कोषमा ७१ अरबको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। आव २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको कम्पिनले जानकारी दिएको छ ।

कम्पनीले १ लाख भन्दाबढी एजेन्टहरू, ११७ शाखा कार्यालयहरू र ५०० कर्मचारीहरू मार्फत व्यावसायिकता, प्रविधिमैत्री पारदर्शिता र विश्वसनीयताका साथ गुणस्तरीय बीमा सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ ।

कम्पनीले अवसरमा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिएको थियो । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० बाट लाभांश प्रस्ताव गर्न बाँकी नै छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।