बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) बढेपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बजारबाट खिचेको छ। राष्ट्र बैंकले बिहीबार उक्त रकम वित्तीय प्रणालीबाट खिचेको हो।
वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ ताने पनि अझै बजारमा ४८ अर्ब बढी तरलता छ ।
बढ्दो रेमिट्यान्स आप्रबाह, आर्थिक गतिविधि पुर्ववत रुपमा नफर्केको हुनाले बैंक वित्तीय संस्थामा निक्षेप बढ्न गएको छ । यसले गर्दा पनि अधिक तरलताको समस्या कायम रहेपछि राष्ट्र बैंकले तरलता खिचेको हो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने क्रम जारी राखेको अवस्थामा पनि कर्जाको माग अपेक्षा गरेअनुसार बढ्न सकेको छैन । बैंकहरुले कर्जा लगानी गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा ब्याजदर समेत प्रभावित हुन्छ । त्यसैले केन्द्रीय बैंकले तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढावलाई रोक्न निक्षेप संकलन उपकरण प्रयोग गर्छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि बिहीबार ५० अर्ब रुपैयाँ बराबरको १४ दिने निक्षेप संकलन उपकरण जारी गरेको थियो । केन्द्रीय बैंकले यसभन्दा अघि निष्काशन गरेको २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बुधबार परिपक्क भएको छ ।
विहीबार निष्काशन भएको १४ दिने अवधिको ५० अर्बको निक्षेप उपकरणमा १७ बैंक तथा वित्तीय संस्थाले ८३ आवेदन मार्फत ९५ अर्ब ६० करोड रुपैयाँ बरावरको माग आवेदन दिएका थिए । बैंक तथा वित्तीय संस्थाले ब्याजदर धेरै मोलमोलाई नगरेपछि निष्काशन गरेको सबै निक्षेप संकलन गरेको थियो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंक तथा वित्तीय संस्थाको तरलता छोटो अवधिका लागि निक्षेप लिने हो ।
विहीबार निक्षेप संकलन उपकरको ब्याजदर यस अघिको भन्दा सामान्य घटेको छ। बैंक तथा वित्तीय संस्थाले निक्षेप दिदाँ केन्दीय बैंकसंग अधिकतम २.९७०० र न्यूनतम २.४८०० प्रतिशत ब्याज माग गरेका छन् । बिहीबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.८२१० प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यसअघि माघ २८ गते जारी भएको निक्षेप संकलन उपकरणको ब्याजादर भन्दा कम हो । त्यतिबेला निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०२७५ प्रतिशत कायम भएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिने अनुपातमा कर्जा प्रवाह कम भएपछि तरलता बढेको हो। रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार, ब्याज पूँजीकरण लगायतले वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढेको हो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया