सर्वोत्तम सिमेन्टको आईपीओमा १३४२ आवेदन रद्द

0
Shares

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिएका १ हजार ३४२ ओटा आवेदन रद्द भएका छन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कुल ९३८ जना आवेदकले १ हजार ३४२ वटा आवेदन रद्द गरिएको हो ।

रद्द भएका १ हजार ३४२ वटा आवेदन मार्फत २ करोड ७० लाख ८५ हजार ५४५ रुपैयाँ बराबरको ७५ हजार ५० कित्ता सेयर माग भएको थियो । रितपूर्वक नपरेका कारण त्यस्ता आवेदन धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँटमा समावेश नगरी रद्द गरिएको हो ।

क्यापिटलका अनुसार फागुन १३ देखि १६ गतेसम्म प्राप्त आवेदनहरुको आवश्यक रुजु तथा भेरिफिकेसन गर्दा दोहोरो आवेदन दिने ४०४ जनाबाट परेको ८०८ वटा आवेदन, वैदेशिक रोजगारीमा रहेर यसअघि निष्कासन गरिएको सेयरमा आवेदन गरी बाँडफाँडमा सेयर पाएका ३८९ जना, उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका स्थानीय बासिन्दा १२६ जना, कम्पनीका कर्मचारी १२ जना र सम्बन्धित आस्वा बैंक वित्तीय संस्थाको अनुरोध अनुसार रद्द गरिएका २ जना एवंं कम्पनीका संस्थापक सेयरधनी ५ जना समेत गरी जम्मा ९३८ जनाको आवेदन रद्द गरिएको हो ।

सर्वोत्तमको सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड बराबरको प्रति सेयर अंकित मूल्य १०० दरको ६० लाख कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि अन्तर्गत बोलकबोल प्रणाली मार्फत योग्य संस्थागत लगानीकर्ताहरुलाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरिएको थियो । उक्त समयमा ४०१ रुपैयाँमा बिक्री भई ४०१ रुपैयाँ कट अफ मूल्य कायम भएको र तत्पश्चात् दोस्रो चरणमा उक्त कट अफ मूल्यमा १० प्रतिशत छुट दिई प्रति सेयर ३६० रुपैयाँ ९० पैसाको दरमा सर्वसाधारणमा सेयर जारी गरिएको हो ।

कम्पनीको कुल सेयरको ६० प्रतिशत अर्थात् ३६ लाख कित्ता सेयरमध्ये २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिक र ९ लाख ३० हजार कित्ता सेयर परासी (नवलपरासी बर्दघाट सुस्ता पश्चिम) र पाल्पा जिल्लाका उद्योग तथा खानी उत्खनन क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरिएकोमा वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकको लागि निष्काशित सेयर सम्पूर्ण रुपमा बिक्री भई बाँडफाँड गरिसकिएको छ भने उद्योग तथा खानी उत्खनन क्षेत्रका बासिन्दाको लागि बिक्री खुल्ला गरिएको सेयरमध्ये जम्मा २ लाख ४८ हजार ४७० कित्ता सेयर बिक्री भएकोले बाँकी रहेको ६ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिने सेयरमा थप गरी निष्कासन गर्ने गरी उद्योग तथा खानी उत्खनन क्षेत्रका बासिन्दालाई माग बमोजिम बाँडफाँट गरिसकिएको छ ।

यसरी तेस्रो चरणमा उक्त बाँकी रहेको ६ लाख ८१ हजार ५३० कित्ता सेयर समेत सर्वसाधारणमा निष्काशन गरिने सेयरमा थप गरी सो को ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामुहिक लगानी कोष र ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ कित्ता सेयरकम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको २७ लाख ७६ हजार ७६ कित्ता सेयर बुक बिल्डिङ निर्देशिका बमोजिम निष्कासन गरिएको हो ।

५५ हजार ५२१ जना आवेदकले हात पारे सेयर

नेपालको मर्चेण्ट बैंकिङ्ग ईतिहासमा बुक विल्डिङ्ग विधि मार्फत पहिलोपटक निष्काशन गरिएको सर्वोत्तम सिमेन्टको सर्वसाधारणतर्फको धितोपत्र ५५ हजार ५२१ जना आवेदकले हात पारेका छन् ।  धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ र बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम गोलाप्रथाविधि मार्फत बाँडफाँड भएको सेयरमा सर्वसाधारणले धितोपत्र खरीदका लागि आवेदन दिने न्यूनतम् ५० कित्ता तथा अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रति सेयर मूल्य ३६० रुपैयाँ ९० पैसाको दरमा मिति २०८० फागुन १३ देखि १६ गतेसम्म सिडिएस एण्ड क्लियरिङ्गको सि–आस्वा प्रणाली मार्फत निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा ९ लाख ५९ हजार ८९७ जना आवेदक (९ लाख ६० हजार ३०१ वटा आवेदन मार्फत) हरुबाट ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयर बराबर १८ अर्ब २६ करोड ६३ लाख ६१ हजार ६२४ रुपैयाँको माग भई आवश्यक भन्दा १८.२३ गुणा बढी आवेदन प्राप्त भएको छ । यसरी रीतपूर्वक आवेदन दिने ९ लाख ५८ हजार ९५९ जना आवेदकहरुले १८ अर्ब २३ करोड ९२ लाख ७६ हजार ७९ रुपैयाँ बराबरको ५ करोड ५ लाख ३८ हजार ३१० कित्ता सेयरको आवेदन परेको थियो । यसरी न्युनतम ५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्ने ९ लाख ५८ हजार ९५९ जना आवेदकमध्ये ५५ हजार ५२१ जना आवेदकहरुलाई ५० कित्ताका दरले २७ लाख ७६ हजार ५० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

यसरी बाँडफाँड गरि बाँकी रहेको २६ कित्ता सेयरको हकमा ६० देखि ५ हजार कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये बाँडफाँडमा पर्न सफल २६ जना लगानीकर्तालाई थप एक (१) कित्ताका दरलफागुन २५ गते शुक्रबार निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्ट्रर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ र बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम गोलाप्रथा विधि मार्फत बाँडफाँड भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।